करीब आधा दर्जन फिल्ममा काम गरेर पनि लोकप्रियताबाट बञ्चित रहेकी अभिनेत्री मरिश्का पोखरेललाई ५ मिनेटको लोकदोहोरी भिडियोले नसोचेको चर्चा दिलायो । 'सालको पात टपरी' गीतमा नृत्य गरेपछि अहिले उनको भिडियोमा लोभलाग्दो व्यस्तता छ । यो गीतलाई उनको करिअरको टर्निङ प्वाइन्ट भनिएको छ । आजभोली हरेक दिन उनी भिडियोको छायांकनमा व्यस्त हुने गरेकी छन् भने प्रायः दैनिक रुपमा युट्युबमा उनी अभिनीत भिडियो लञ्च हुने गरेका छन् ।
'के म तिम्रो होइन र' फिल्ममा डेब्यू गरेकी उनको पछिल्लो फिल्म 'मिस्टर भर्जिन' हो । तर, दुर्भाग्य ! उनी अभिनीत कुनै फिल्म बक्सअफिसमा सफल ठहरिएनन् । न त उनको अभिनयको नै वाहवाही भयो । लगातार फिल्म असफल हुँदा उनको हातमा नयाँ फिल्म नै पर्न छाडेको फिल्मवृतमा चर्चा छ । तर, 'सालको पात' गीतको लोकप्रियतापछि भने उनलाई भिडियोबाट फुर्सद मिलेको छैन । अहिले भिडियोमा उनको पारिश्रमिक पनि निकै बढेको छ ।
(1).jpg)
आइतबार उनी अभिनीत तथा गायक शंकरलाल श्रेष्ठको 'माया त लाउने हो' गीतको भिडियो राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । यस गीतमा उनले अभिनेता दीलिप रायमाझीसँग रोमान्स गरेकी छन् । आफू २ कक्षामा अध्ययन गर्दा अभिनेता रायमाझीको फिल्म 'जिन्दगानी दर्पण छाँया' हेरेको स्मरण गर्दै उनले पहिलो पटक स्क्रिन साझेदार गर्न पाउँदा आफू फुरुङ्ग भएको बताइन् । उनी आफूलाई अभिनेता दीलिपको ठूलो प्रशंसक बताउँछिन् ।
दीलिपसँग फिल्ममा पनि काम गर्ने रहर छ ? पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भनिन्, 'राम्रो स्क्रिप्ट र राम्रो टिमबाट अफर आएको खण्डमा म त उहाँसँग काम गर्न तयार छु ।' कार्यक्रममा दीलिप भने अनुपस्थित थिए । लगातार म्यूजिक भिडियो गरिरहेको भएता पनि आफू फिल्मबाट भने टाढा नभएको उनको भनाई छ । फिल्म नपाएर लगातार भिडियो गर्नुभएको त होइन ? भन्ने पत्रकारको प्रश्नमा उनले अब केही ग्यापमा मात्र फिल्म गर्ने बताइन् ।
आफ्नो करिअरको सुरुवात गायक स्वरुप आचार्यको गीतको भिडियोबाट भएका कारण आफू भिडियोबाट पनि टाढा रहन नसकेको उनी बताउँछिन् । फिल्म गरेपछि भिडियो गर्नै नहुने भन्ने मान्यता आफूले नराख्ने उनको भनाई छ । 'मैले धेरै भिडियो पनि गरिरहेको छैन । राम्रो आयो भने मात्र गर्ने गरेको छु । तर, फिल्म अफर नआएर भिडियो गरेको भन्ने चाहिँ होइन । फिल्म पनि अफर आइरहेको हुन्छ । तर, अब म केही ग्यापमा मात्र फिल्म गर्ने सोचमा छु', उनी सुनिइन् ।

