Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

जसिताले खोलिन् ‘रातो टिका निधारमा’ नगर्नुको कारण

फिल्मीखबर, काठमाण्डौ, 2019/04/07
गत वर्ष प्रदर्शनमा आएको अभिनेता प्रदीप खड्का अभिनीत तथा मिलन चाम्स निर्देशित फिल्म 'लिलिबिली' बाट डेब्यू गरेकी अभिनेत्री जसिता गुरुङको अहिले नेपाली फिल्ममा चर्को डिमाण्ड छ । उनलाई लिएर फिल्म बनाउन फिल्ममेकर्स तानातान गरिरहेका छन् । तर, उनले अफर आएका अधिकांश फिल्म रिजेक्ट गरिरहेकी छन् । 'छक्का पञ्जा ३' समेत उनले नकारेकी थिइन् । यसको कारण अभिनेता प्रदीपलाई मानिएको छ । 
 
शुक्रवारबाट उनको दोस्रो फिल्म ‘लभ स्टेसन’ प्रदर्शनमा आएको छ । टर्किस फिल्मबाट हुबहु कपी गरेर निर्माण गरिएको यो फिल्मले बक्सअफिसमा भने राम्रै पैसा छापिरहेको निर्माण पक्षको दाबी छ । शुक्रवार र शनिबार प्रदीप र जसिताको क्रेजले फिल्मले धेरथोर कमाई गरेकोे थियो । आइतबारबाट स्टार पावर नभएर फिल्मको कन्टेन्ट विक्नेछ । अभिनेता र अभिनेत्री भने दर्शक प्रतिक्रियालाई आफूहरुको सफलता मानिरहेका छन् । 
 
 
यो फिल्मपछि जसिताको पाइपलाइनमा कुनै फिल्म छैन । हालसालै उनलाई भेट्रान निर्देशक अशोक शर्माले आफ्नो नयाँ फिल्म ‘रातो टिका निधारमा’ अफर गरेका थिए । तर, सहमती जुट्न नसकेपछि उनको ठाउँमा अर्की अभिनेत्री साम्राज्ञी आरएल शाह भित्रिइन् । जसिताले १० लाख पारिश्रमिक डिमाण्ड गरेपछि उनको हातबाट यो प्रोजेक्ट उम्किएको चर्चा छ । उनलाई १० लाख दिनुको सट्टा अशोकले साम्राज्ञीको क्रेजलाई हेरेर १६ लाख तिरे । 
 
तर, अभिनेत्री जसिताले ‘रातो टिका निधारमा’ पारिश्रमिकमा कुरा नमिलेर नगरेको कुराको खण्डन गरेकी छन् । उनले भनिन्, 'मलाई फिल्म अफर भएको थियो । तर, पारिश्रमिकमा कुरा नमिलेर नगरेको भन्ने चाहिँ होइन । समाचारमा मैले जति पारिश्रमिक डिमाण्ड गरेको भनेर आयो, त्यसमा कुनै सत्यता छैन । मैले त्योभन्दा कम र त्योभन्दा धेरै पनि मागेको हुनसक्छु । मैले मेरो क्यारेक्टरमा आफूलाई नपाएको कारण नगरेको हुँ ।' 
 
जसिताले अगाडि भनिन्, 'मलाई स्क्रिप्ट राम्रो लागेको थियो । तर, मैले मेरो क्यारेक्टरमा आफूलाई देखिनँ । अझ भनौं, मैले यस्तो भूमिका गर्ने बेला भएको छैन जस्तो लाग्यो । अनि, म आफैंमा कन्फिडेन्ट पनि थिइनँ ।' उनले साम्राज्ञीले फिल्म गर्नु पनि आफूले गर्नुसरह रहेको बताइन् । अहिले यी दुई अभिनेत्रीको गजबको दोस्तीयारी छ । प्रदीपपछि फिल्म इन्डस्ट्रीमा उनको सबैभन्दा मिल्ने साथी नै साम्राज्ञी हुन् । 
Most Visited News (monthly)