Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

उपहार लिएर वृद्धाआश्रम पुगे सलिन

फिल्मीखबर, काठमाण्डौ, 2019/04/06
डेब्यू फिल्म 'ए मेरो हजुर २' रिलिजको बखत अभिनेता सलिनमान बनियालाई त्यति चटारो थिएन । न त उनीमाथि कुनै चुनौतीका थाक थिए । यो फिल्मपछि फिल्ममै नफर्किने मुडमा रहेका सलिन अहिले दोस्रो फिल्म 'यात्रा' को प्रचारमा दिनरात भोक-निन्द्रा त्यागेर दौडिरहेका छन् । यो फिल्म यही चैत २९ मा प्रदर्शनमा आउँदैछ । एकै मितिमा आफ्नै डेब्यू फिल्मको तेस्रो सिरिज पनि रिलिज हुन लागेका कारण उनले 'यात्रा' को प्रचारलाई सुस्त हुन दिएका छैनन् । 
 
 
महोत्सव, कलेजदेखि मिडियामा फिल्मको प्रचार गरेर भ्याइनभ्याइ सलिन शुक्रवार उपहार बोकेर वृद्धाआश्रम पुगेका छन् । लप्सीफेदीमा रहेको जेपी प्रतिष्ठान मैत्री सेवा आश्रम जेष्ठ नागरिक ग्रामबाट भेटघाटका लागि निम्तो आएपछि उनी फिल्मको जम्बो टिमसहित पुगेका हुन् । यो आश्रममा फिल्मको चार दिन छायांकन पनि भएको थियो । झण्डै ३५ जना वृद्धवृद्धा आश्रित यस आश्रमलाई फिल्म टिमले प्रिज्मा कम्पनीको एलइडी टिभी उपहार दिएको छ ।
 
सलिनसँगै फिल्मका कलाकार रेअर राई, निर्माताहरु चिज कुमार श्रेष्ठ, सुशील पोखरेल र सर्जुमान लिगल लप्सीदेफी पुगेका हुन् । वृद्धवृद्धासँगै उनीहरुले खाना पनि खाएका थिए । सलिनले सुटिङपछि फेरि वृद्धाआश्रम आउन पाउँदा खुसी लागेको बताए । उनले भने, ‘सुटिङको बेला पनि एक दुई दिन यहाँ बसेको थिएँ । मलाई यहाँ आश्रित बुबा-आमाहरुसँग साथमा समय विताउन पाउँदा निकै रमाइलो लाग्छ ।’ उनी फेरि भेट्न आउने वाचा गरेर फर्किएका छन् । 
 
 
सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलोन बस्नेत, जान्वी बस्नेत, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेललगायतको पनि अभिनय छ । यस फिल्मबाट मलिका महतले डेब्यू गरेकी छन् । यस फिल्मलाई जर्नी लभस्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ । फिल्मलाई संजय लामाले खिचेका हुन् भने हिमाल केसीको द्वन्द छ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, प्रतिक पौडेल र कोविद बज्रको संगीत रहेको छ । 
Most Visited News (monthly)