फिल्मलाई प्रायः एक निर्देशकले निर्देशन गर्ने गर्दछन् । सहयोगीको रुपमा सहायक निर्देशक हुने भएता पनि फिल्म निर्देशनको सम्पूर्ण कार्यभार भने एक निर्देशकमाथि हुन्छ । तर, नेपाली फिल्म इतिहासमा पहिलो पटक चार निर्देशकले एकसाथ फिल्म ‘द डार्क एण्ड लाइट’ निर्देशन गर्ने भएका छन् । यो फिल्मको शुक्रवार पशुपति क्षेत्रमा रहेको वृद्धाश्रममा शुभ मुहूर्त गरिएको छ ।
.jpg)
निर्देशक राजु अर्याल, अभिनेता पिटर खालिङ, अभिनेत्री सरस्वती लामा र निर्देशक राजु अर्यालले क्यामेरा पूजा गरेका थिए भने वरिष्ठ गीतकार राजेन्द्र थापाले नविरल फुटाएर फिल्मको शुभ मुहूर्त गरेका थिए । खालिङ सिस्टर्स मुभिज प्रा.लिको ब्यानरमा बन्ने फिल्ममा राजु अर्यालको मुख्य निर्देशन रहने छ भने पिटर खालिङ, सरस्वती लामा तथा केशवराज भट्टले सहयोग गर्नेछन् ।
वृद्धाश्रममा आश्रित वृद्ध-वद्धाहरुलाई खाना खुवाउने उद्देश्यले गरिएको शुभ मुहूर्तमा फिल्मकी अभिनेत्री तथा निर्देशक सरस्वती लामा र गायक डेविड शंकरले फिल्म प्रमोसनल गीत सुनाएका थिए । उक्त गीतमा राजेन्द्र थापाका शब्द तथा दीपक शर्माको संगीत छ । गीतकार राजेन्द्रले आफूले फिल्मका लागि जिब्रोमा झुण्डिने शैलीको गीत तयार पारेको बताए ।
.jpg)
निर्देशक अर्यालले फिल्मले हरेक व्यक्तिमा हुने नकारात्मक तथा सकारात्मक पक्षलाई उजागर गर्ने बताए । फिल्ममा पिटर र सरस्वतीसहित सेसुका राई, सुमन मगर, प्रिन्सा राईलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । फिल्मको शुक्रवारबाटै छायांकन सुरु भएको छ । फिल्मलाई सविन भट्टराईले खिच्नेछन् । दसैंअघि फिल्म प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

