Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चट्ट रुमाल’ विवादबारे निर्देशक भन्छन्, ‘हामी चुकेकै हौं’

फिल्मीखबर, काठमाण्डौ, 2019/04/05
पछिल्लो समय नेपाली फिल्ममा पुराना चर्चित गीतलाई रिमेक गर्ने ट्रेन्ड सुरु भएको छ । तर, रिमेक गरिएका गीतले ताली कम गाली बढी पाइरहेका छन् । हालसालै फिल्म 'द ब्रेकअप' मा 'आज हाम्रो भेट...' गीतको रिमेक गरियो । यसपछि फिल्म 'वीरविक्रम २' मा दशक अगाडिको चर्चित गीत 'पिरतीको मिठो...' लाई रिमेक गरेर समावेश गरियो । तर, दुबै रिमेक गरिएका गीतले दर्शकको मन जित्न सफल भएनन् । आलोचना मात्र भयो । 
 
यही चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको यस वर्षको प्रतिक्षीत फिल्ममध्येको एक ‘यात्रा’ मा स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री निरुता सिंहले ठुम्का लगाएको सुपरहिट गीत ‘चट्ट रुमाल’ लाई रि-एरेञ्ज गरेर करीब एक महिना अगाडि युट्युबमा सार्वजनिक गरिएको थियो । यसले अरु रिमेक गरिएका गीतले भन्दा ठूलो आलोचना खेप्नुपर्‍यो । युट्युबमा हालसम्म २६ लाख बढी पटक हेरिएको भए पनि कमेन्टमा गालीको वर्षा छ । राम्रो प्रतिक्रिया भेट्न मुश्किल पर्छ । 
 
 
युट्युबमा सार्वजनिक भएसँगै गीतको जोडतोडले आलोचना सुरु भएको थियो । गीतलाई लिएर विवाद बढेपछि गायिका मेलिना राईले फेसबुकमा स्टाटस लेखेर निर्माण टिमको घोर निन्दा नै गरिन् । तर, गीत विवादबारे निर्माण टिमले भने अहिलेसम्म आधिकारिक धारणा दिएको छैन । मौन बस्नुलाई उचित निर्णय मानेको छ । यसबीच, निर्देशक सम्राट शाक्यले भने फिल्मीखबरसँगको एक भेटमा गीतलाई लिएर भएको विवादबारे आफ्नो भनाई राखेका छन् । 
 
उनले छोटो-मिठो शब्दमा ‘वल्ड इज गोल्ड’ भन्दै गीतलाई राम्रो बनाउन आफूहरु चुकेको स्वीकार गरे । उनले भने- ‘पुरानो गीतभन्दा उत्कृष्ट बनाउन हामीले मिहिनेत गर्न कुनै कसर बाँकी राखेका थिएनौं । तर, हामी कहीँ न कहीँ पक्कै चुकेकै हौं । गीतको आलोचना हुनुले हाम्रो मिहिनेत अझै कम भएको महशुस हुन्छ ।’ उनले गीत राम्रो बनाउन चुकेकोमा दर्शकसँग माफी पनि मागे । उनी यो गीतले सबैलाई पाठ सिकाएको पनि बताउँछन् । 
 
‘चट्ट रुमाल’ गीतले दर्शकलाई निराश बनाए पनि फिल्मले नबनाउनेमा उनी विश्वस्त छन् । ‘फिल्मको कथा राम्रो छ । त्यो कथालाई मैले पर्दामा दुरुस्तै उतार्न सक्दो मिहिनेत गरेको छु । मैले टिमलाई फिल्म देखाइसकेको छु । सबैले मनपराउनुभएको छ । कलाकारहरुको काम पनि उत्कृष्ट छ । अब दर्शक प्रतिक्रिया बुझ्न आतुर छु’, उनले भने । यसमा सलिनमान बनिया, सलोन बस्नेत, मलिका महत, रेअर राई, राजाराम पौडेललगायतको अभिनय छ । 
Most Visited News (monthly)