सम्भवतः अभिनेता अनमोल केसीलाई यस वर्षजस्तो तनाव कहिल्यै भएको थिएन । किनकि, उनका दुई फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदैछन् । 'क्याप्टेन' फागुन १७ मा प्रदर्शनमा आइसकेको छ भने 'ए मेरो हजुर ३' यही चैत २९ मा प्रदर्शनमा आउँदैछ । 'क्याप्टेन' को तनावबाट बल्ल मुक्त भएका उनी अब 'ए मेरो हजुर ३' को प्रचारमा खटिन सुरु गरेका छन् ।
यस फिल्ममा उनले पहिलो पटक 'फिल्मी ब्लड' सँग काम गरेका छन् । उनको अपोजिटमा अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापा छिन् । यो उनको डेब्यू फिल्म हो । फिल्मले एक सेलिब्रेटी र फ्यानको प्रेमकथा भन्छ । गीतसंगीत र ट्रेलरले निकै राम्रो प्रतिक्रिया बटुलिरहेको अवस्थामा फिल्मले पनि बक्सअफिसमा राम्रो पैसा छाप्ने फिल्म पण्डितहरुको पूर्वअनुमान छ ।
'ब्याक टू ब्याक' फिल्म गरेर थाकेको बताउने अनमोल अब केही महिना ग्याप दिने सोचमा छन् । लगभग ६ महिना अब उनी कुनै फिल्म नगर्ने मनस्थितिमा छन् । तर, दैनिक उनलाई दुईभन्दा बढी फिल्मबाट अफर आउन भने कम भएको छैन । नेपालीमात्र नभएर उनलाई बलिउड फिल्मको अफर समेत आइरहेको छ । हालै उनलाई ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक पेमा धोन्डुपले बलिउड फिल्म अफर गरेका थिए ।
अहिले यस फिल्मको गीत तयार गर्ने काम भइरहेको छ । अनमोल फिल्म गर्न तयार भए उनको अपोजिटमा निर्माण टिम बलिउड अभिनेत्री जान्भी कपूरलाई लिने सोचमा छ । केही दिन अगाडि फिल्मीखबरसँग फोनर्वार्तामा बलिउड फिल्म अफर आएको कुरा नकारेका उनले मंगलवार दिउँसो पुतलीसडकमा पत्रकारसँग गफिँदै बलिउड फिल्मबाट अफर आएको भएता पनि गर्ने फाइनल नभएको प्रस्ट्याए ।
(2)(1).jpg)
अनमोलले आफूलाई ‘द म्यान फ्रम काठमाडौं’ का निर्माता तथा क्यूएफएक्सका मालिक नकिम उद्यिनले बलिउड फिल्म अफर गरेको बताउँदै भने- 'कुरा भएको अवश्य हो । तर, केही फाइनल भएको छैन । फाइनल हुनुभन्दा अगाडि अझै धेरैपटक भेट हुनुपर्छ । बलिउड फिल्म भन्ने वितिक्कै म हामफालेर जााँदिनँ । स्क्रिप्ट मनपर्यो भने मात्र गर्छु । र, फिल्ममा जुन हिरोइन हुने भनेर चर्चा चलेको छ त्यसमा पनि सत्यता छैन ।'
तर, उनलाई 'धडक' गर्ल जान्भी कपूरसँग स्क्रिन साझेदारी गर्न इच्छा भने रहेछ । पत्रकारको एक प्रश्नमा मुसुक्कै हाँस्दै उनले भने- 'अवश्य पनि साथमा काम गर्ने मन छ । उहाँ राम्रो कलाकार हुनुहुन्छ ।' यो फिल्ममा उनलाई ७० देखि ८० लाखसम्म पारिश्रमिक दिन निर्माण टिम तयार छ । अनमोलले फिल्मको कन्सेप्ट एकसरो सुनिसकेका छन् । तर, उनले निर्देशक र निर्मातासँग फाइनल स्क्रिप्ट मागेका छन् ।
आशा गरिएका कलाकारहरु नै नेपाली फिल्म क्षेत्रलाई गर्व गर्न लायकको स्थानमा पुर्याउनुको सट्टा बलिउडतिर जानु राम्रो हो ? पत्रकारको प्रश्नमा उनी केहीबेर घोत्लिए । उनले आफू जहाँ गएपनि देशको नाम चिनाउने बताए । उनी भन्छन्, 'म बलिउड गएर त्यहीँ बस्ने होइन । त्यहाँ मैले भविष्य सोचेको पनि छैन । मलाई खासमा नेपाली फिल्मको माध्यमबाटै अन्तर्राष्ट्रियस्तरमा नेपाललाई चिनाउन मन छ ।'
यसअघि पनि उनले एक बलिउड फिल्म महँगो पारिश्रमिकमा साइन गरेको खबर बाहिरिएको थियो । फिल्मलाई उनका पिता केसीले निर्देशन गर्ने बताइएको थियो । यो फिल्म नबन्ने हो ? पत्रकारको अर्को प्रश्नमा उनले भने- 'मैले साइन गरेको फिल्म जुन कम्पनीले बनाउने हो त्यसले अहिले अर्को फिल्म निर्माण गरिरहेको छ । यसकारण केही ढिलाई भएको हो । त्यो फिल्म बन्छ तर, केही समय ढिलो हुनसक्छ ।'

