नेपाली फिल्मले हलमा राम्रो व्यापार नगरेर हरेक साता निर्माताहरु टाँट पल्टिरहेका छन् । सजिलै लगानी सुरक्षित हुने विश्वासमा महँगो पारिश्रमिक तिरेर लिइएका ठूला स्टारका फिल्मले समेत लगानी उठाउन नसकेर निर्माताले टाउकोमा हात राख्नु पर्ने अवस्था छ । कन्टेन्टमा बेवास्था गरेर चलेका कलाकार लिएपछि फिल्म चल्छ भन्ने सोचाइले अहिले एकपछि अर्को फिल्मले हलमा हावा खाइरहेको यथार्थलाई नकार्न सकिन्न ।
चलेका स्टारहरु पनि कन्टेन्टभन्दा पैसामुखी भइरहेका छन् । डिमाण्ड गरेजति पारिश्रमिक हातमा परे उनीहरु सकभर फिल्म उम्काउन चाहँदैनन् । यसले नेपाली फिल्म र कलाकारप्रति दर्शकको विश्वास विस्तारै गुम्दै गएको छ । अहिले एउटा फिल्म बनाउन चलेको कलाकार लिए पारिश्रमिकमा मात्रै ७० देखि ८० लाखसम्म छुट्याउन पर्ने अवस्था छ । हलसम्म पुग्दा २ करोडमाथिको बजेट पुग्छ ।
२ करोडमा बनेको फिल्मले हलबाट लगभग ९ करोडमाथि कमाउनु पर्छ । हातको औंलामा गनिने केही सीमित चलेका स्टारमा पनि आफ्नै बलबुतोले दर्शकको खल्तीबाट ९ करोड झार्न सक्ने सामथ्र्य छैन । तर, निर्माताहरु उनीहरुमाथि नै आँखा चिम्लिएर लगानी गर्न तयार छन् । २० देखि ५० लाखसम्म पारिश्रमिक माग्ने कलाकारले आफ्नै पारिश्रमिक पनि उठाउन सक्छन् वा सक्दैनन् भन्ने खोज्न किन आवश्यक ठान्दैनन् फिल्मकर्मी ?
फिल्म क्षेत्रमा जस्तो सबैभन्दा चाँडो नाम र दाम कमाउने क्षेत्र अरु छैन । यसकारण पनि चाँडो प्रतिफल खोज्ने लोभमा नेपाली फिल्ममा लगानी गर्न ओहिरिने नयाँ फिल्ममेकर निकै बढेका छन् । तर, पहिलो फिल्म बनाएपछि प्रायः यो क्षेत्रलाई सराप्दै बाहिरिन्छन् र उसैको सफलताको खबर सुनेर अरु निर्माता फिल्म बनाउन तम्सिन्छन् । तीनैले ५ लाख डिमाण्ड गर्ने बेला नभएको कलाकारलाई ३० लाख तिरेर फिल्म बनाउँछन् ।
(1).jpg)
कलाकारको पारिश्रमिक बढ्नु नराम्रो होइन । तर, यहाँ कलाकारको पारिश्रमिकले मात्र आकाश छोइरहेको छ । हलमा फिल्मको व्यापार उकालो लाग्ने छाँटकाट देखिएको छैन । गुणस्तरिय फिल्म बन्न छाडेको दर्शक गुनासो छ । विदेशी फिल्मले नेपालमा आफ्नो बजार बलियो बनाउँदै लागेको छ । नेपाली फिल्मले भने घरेलु बजारमा नै आफूलाई प्रभावशाली देखाउन सकेको छैन । यसले नेपाली फिल्मको भविष्य भयाबह देखिन्छ ।
करीब २ वर्ष अगाडि अभिनेता अनमोल केसीले फिल्म 'कृ' मा २२ लाख पारिश्रमिक लिएपछि सिनेवृतमा ठूलै तरंग ल्यायो । किनकि, यसअघि कुनै अभिनेताले यो पारिश्रमिक हात पार्न सकेका थिएनन् । यसको केही महिनामा अभिनेता प्रदीप खड्काले पनि फिल्म 'लिलिबिली' मा २२ लाख पारिश्रमिक बुझे । यसपछि यी दुई अभिनेतामा पारिश्रमिकको मामलामा को नम्बर वान ? भन्ने लडाइँ देखिएको छ ।
अहिले अनमोलले ५० र प्रदीपले ४० लाखसम्म पारिश्रमिक डिमाण्ड गर्न थालेका छन् । अभिनेता पल शाहले भर्खर २० लाख पुर्याएका छन् । यसबीच, फिल्म 'मंगलम' बाट आम दर्शकमाझ चिनिएका अभिनेता पुष्प खड्काले पनि महँगो पारिश्रमिक बुझ्ने अभिनेताको सूचीमा आफूलाई इन्ट्री गराउने छनक देखाएका छन् । उनले एक फिल्ममा ३० लाख पारिश्रमिक मागेको खबर अहिले चर्चामा छ । यो कुरा उनी आफैंले स्वीकार गरेका छन् ।
दार्जिलिङका एक निर्देशकले अफर गरेको फिल्ममा उनलाई आफ्नो भूमिका मनपरेको छ । उनी निर्माण टिमले ३० लाख दिए काम गर्न राजी छन् । निर्माताले भने केही घटाउन आग्रह गरिरहेका छन् । हाल कोहलपुरमा फिल्म 'मारुनी' को छायांकनमा रहेका उनले फिल्मीखबरसँग फोनर्वार्तामा भने- 'मैले ३० लाख मागेकै हुँ । किनकि, फिल्मलाई मैले बढी समय दिनुपर्ने छ । शारीरिक रुपमा परिवर्तन ल्याउन पनि मैले निकै मिहिनेत गर्नुपर्ने हुन्छ ।'
उनी उक्त फिल्म ३० लाखभन्दा धेरै घटेर काम नगर्ने बताउँछन् । उनी भन्छन्, 'बैशाख २० मा मेरो नयाँ फिल्म 'दाल भात तरकारी' आउँदैछ । 'मारुनी' भदौमा आउँदैछ । यसकारण मसँग खासै समय छैन । अर्को फिल्म गरिहाल्ने अहिले मनस्थितिमा म छैन । तर, ३० लाख पारिश्रमिक दिन उहाँहरु तयार हुनुभयो भने गर्नेछु ।' फिल्ममा धेरै समय दिनुपर्ने भएकाले पारिश्रमिक धेरै मागेको उनको भनाई छ ।
निर्देशकको आत्मविश्वासबाट आफू फिल्म गर्न सकारात्मक रहेको उनी बताउँछन् । 'केही कुरा मलाई चित्त बुझेको चाहिँ छैन । यद्यपि, मेरो क्यारेक्टर भने राम्रो छ । पारिश्रमिकमा कुरा मिल्यो भने फिल्म गर्ने सम्भावना प्रवल छ', उनी भन्छन् । योसँगै उनलाई निर्देशक विजय केरुङले पनि फिल्म अप्रोच गरेका छन् । फिल्ममा 'कृ' अभिनेत्री अदिती बुढाथोकी हुने चर्चा छ । तर, पुष्प यो प्रोजेक्ट भने गर्ने मुडमा छैनन् ।

