अभिनयमा पोख्त अभिनेता हुन् सलोन बस्नेत । उनी हरेक चरित्रलाई अभिनयको माध्यमबाट शतप्रतिशत न्याय गर्न सक्छन् । विशेषतः चुलबुले भूमिकामा उनी फिट मानिन्छन् । फिल्ममा उनी भएपछि दर्शकलाई हलमा बाँधेर राख्न अरुको खाँचै पर्दैन । यसैले त उनलाई फिल्मको मेरुदण्ड भन्ने गरिन्छ । उनको इनर्जी र उम्दा अभिनयले दर्शकलाई बेग्लै आनन्द दिन्छ । तर, दुर्भाग्य !उनलाई दर्शकले नै लिड हिरोमा स्वीकारेनन् ।
केही फिल्ममा उनले लिड हिरो भएर काम नगरेका होइनन् तर, कुनै सफल भएनन् । तात्तातो उदाहरणको रुपमा 'बाबु कान्छा' र 'सुश्री सम्पत्ति' लाई लिन सकिन्छ । यसमा उनी लिड हिरो थिए तर, दुबै फिल्म बक्सअफिसमा 'डिजास्टर' साबित भए । तर, उनले हिरोको साथीको भूमिका निभाएका फिल्म भने प्रायः बक्सअफिसमा हिट छन् । र, उनको भूमिका र अभिनयलाई पनि दर्शकले अत्याधिक रुचाएका छन् ।
सायद लिड रोलमा अब चल्न नसक्ने स्वीकार गरेरै होला अचेल उनले चरित्र अभिनेताको रुपमा नै लगातार फिल्म गरिरहेका छन् । सहायक भूमिका रहेको उनको दुई नयाँ फिल्म यही चैत २९ मा एकसाथ प्रदर्शनमा आउँदैछन् । 'ए मेरो हजुर ३' मा उनी अभिनेता अनमोल केसीको साथीको भूमिकामा छन् भने 'यात्रा' मा भिलेन बनेका छन् । तर, सहायक भूमिकामा व्यस्त भइरहँदा उनले अचेल केमियो रोल समेत हातबाट उम्काएका छैनन् ।
.jpg)
अहिले उनको केमियो रहेको फिल्म एकपछि अर्को प्रदर्शन भइरहेका छन् । फागुन १७ मा प्रदर्शनमा आएको फिल्म 'द ब्रेकअप' मा उनी झुलुक्क देखिए । फिल्ममा उनको उपस्थिति यतिसम्म दयनिय थियो कि, निर्देशकले एउटा डायलग समेत दिएका छैनन् । फिल्म 'क्याप्टेन' मा पनि उनको केमियो रोल छ । तर, 'द ब्रेकअप' जस्तो दयनिय भने छैन । भूमिका छोटो भए पनि दर्शकले 'इन्जोय' गर्छन् ।
गएको दुई साता अगाडि प्रदर्शनमा आएको अर्को फिल्म 'जानी नजानी' मा पनि उनको केमियो रोल थियो । तर, फिल्ममा उनको खाँचो कहीँ कतै देखिएको थिएन । यसमा उनी फिल्म स्टारकै भूमिकामा प्रस्तुत थिए । अभिनेत्री निरिषा बस्नेतलाई लिफ्ट दिनलाई मात्र उनलाई फिल्ममा स्थान दिइएको छ । यसरी लगातार आएको-गएको पत्तो नहुने भूमिका गरिरहे यसले उनको फिल्म करिअरलाई असर गर्नेमा सन्देह छैन ।
सलोन हिरोबाट साइड हिरो बने । अब २/४ सिन भए पनि गर्न थालेका छन् । यसको अर्थ उनको करिअर साँचिक्कै ओरालो लागेको त होइन ? वा, पैसाको लोभले केमियो रोल पनि नछाडेका हुन् ? जे भए पनि झुलुक्क देखिने रोल गरेर दर्शकलाई वाक्कदिक्क बनाइरहने हो भने एकदिन उनलाई मेकर्सले केमियो रोलमा पनि नसम्झने दिन आउनसक्छ । अब करिअरप्रति गम्भीर हुने कि सलोनजी ?

