Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बाराका हावाहुरी पीडितलाई ‘लभ स्टेशन’ को सहयोग

फिल्मीखबर, काठमाडौं, 2019/04/02
 
यही शुक्रवारबाट देशभर प्रदर्शनमा आउन लागेको अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘लभ स्टेशन’ टिम यतिबेला समाजसेवामा पनि सक्रिय छ । करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई एक लाख र ४५ जना अनाथ बालबालिकालाई पढ्नका लागि लाग्ने भर्नासहित तीन महिनाको मासिक शुल्क प्रदानपछि फेरि फिल्म टिमले बारा–पर्सामा गएको भीषण हावाहुरीबाट पीडितलाई सहयोग घोषणा गरेको छ । 
 
हावाहरीबाट भएको क्षतीपछि उद्धार, उपचार, राहत र सहयोगमा आफूहरुको साथ रहने बताउँँदै अभिनेता खड्काले यस विपतको समयमा सहयोगको लागि सबैसँग आग्रह पनि गरेका छन् । सोमवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै ‘लभ स्टेशन’ का प्रस्तुतकर्ता गोविन्द शाही र प्रदीपले बारा जिल्लाका हावाहुरी पीडितहरुलाई ५० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् । 
 
'बारा जिल्ला बिपद् ब्यबस्थापन कोष' मार्फत् सो रकम पीडितहरुका लागि सहयोग गरिने अभिनेता प्रदीपले बताए । बाराका जिल्ला प्रशासन प्रमुखसँग सम्पर्क गरी पीडितहरुलाई राहत तथा अन्य सहयोगका लागि अभिनेता प्रदीपले अपिल पनि गरेका छन् । निर्माता गोविन्द शाहीले पनि पीडितलाई सहयोगका लागि आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । 
 
फिल्म ‘लभ स्टेशन’ मा प्रदीपले अभिनेत्री जसिता गुरुङसँग रोमान्स गरेका छन् । यसअघि यी दुईले फिल्म 'लिलिबिली' मा पहिलो पटक स्क्रिन साझेदारी गरेका थिए । फिल्मलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । प्रदीप र जसिताका अलावा फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाललगायतका कलाकारको पनि अभिनय छ ।
Most Visited News (monthly)