गएको फागुन १७ गते प्रदर्शनमा आएको अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ मा गरिएको भिएफएक्सको निकै आलोचना भएको थियो । फिल्ममा भिएफएक्सको माध्यमबाट नेपालमै अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला देखाइएको थियो, जुन आँखा बिझाउने खालको थियो । अभिनेता सरोज खनालले ‘क्याप्टेन’ ले आलोचना खेप्नुलाई नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान नहुनुलाई मानेका छन् ।
यो फिल्ममा उनी एक फुटबल खेलाडीको रुपमा प्रस्तुत छन् । तर, आर्थिक समस्याका कारण उनी खेल जीवनबाट टाढिन्छन् । उनको सपना छोरा इशान उर्फ अनमोलले पूरा गर्दछन् । फिल्ममा जीवन्त अभिनय गरेका अभिनेता खनालले नेपालमा अन्तर्राष्ट्रियस्तरको खेल मैदान नभएका कारण ‘क्याप्टेन’ ले आलोचना खेप्नु परेको बताए । अहिले उनी 'धुर्मुस-सुन्तली' फाउण्डेसनले निर्माण गर्न लागेको क्रिकेट रङ्गशाला निर्माणमा जुटेका छन् ।
'फिल्म ‘क्याप्टेन’ मा भिएफएक्सको बारेमा धेरै कमेन्टहरु आए । यदी नेपालमा एउटा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला भएको भए हामीले त्यति धेरै आलोचना खेप्नु पर्दैन थियो होला । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशाला बन्दैछ । यो नेपालीका लागि ठूलो खुसीको कुरा हो । 'धुर्मुस-सुन्तली' लाई हरेक नेपालीले आ-आफ्नो ठाँउबाट साथ-सहयोग गर्नुपर्छ', उनले भने ।
.jpg)
शनिबार उनी त्रिभुवन युनिभर्सिटीको क्रिकेट ग्राउण्डमा अभ्यास गर्दै भेटिएका थिए । तीस बर्षपछि ग्राउण्डमै पुगेर क्रिकेटको ब्याट र बल समातेका खनाल यही आउँदो चैत २३ गते शनिबार हुने 'मातृभूमि कप क्रिकेट प्रतियोगिता' मा सहभागी हुने तयारीमा छन् । यस प्रतियोगितामा राष्ट्रियस्तरका खेलाडीदेखी कलाकारहरुसम्म सहभागी हुँदैछन् ।
'धुर्मुस-सुन्तली' फाउण्डेसनको आयोजनामा हुने प्रतियोगितामा शनिबारको अभ्यास खेलमा सरोज खनालसँगै अनुराग कुवंर, निर्मल शर्मा, हेमन्त शर्मा, राजु ढकाल लगायतको टिम सहभागी भएको थियो । भरतपुर नगरपालिका–१५ रामपुरमा रहेको 'गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला' निर्माणमा आर्थिक सहयोग जुटाउन उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

