Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चलचित्र कलाकार संघको चुनाव स्थगित

फिल्मीखबर, काठमाण्डौ, 2019/03/31
फर्जी सदस्यता वितरण गरेको उजुरी परेपछि यही चैत २३ गते हुने भनिएको चलचित्र कलाकार संघको महाधिवेशन स्थगित भएको छ । कलाकार सुरज आरडीले वर्तमान कार्यसमितिले गैर कलाकारलाई नयाँ सदस्यता वितरण गरेको भन्दै केही दिन अगाडि काठमाडौं जिल्ला प्रशासन कार्यालयमा मुद्धा दायर गरेका थिए । 
 
आइतबार सो मुद्धाको सुनवाई गर्दै दुई पक्षको छलफल निष्कर्षमा नपुगेको भन्दै जिल्ला प्रशासन कार्यालयले अर्को आदेश नभएसम्म संघको अधिवेशन रोक्न आदेश दिएको हो । कलाकार संघको आगामी अध्यक्ष पदको लागि सरिता लामिछाने र लय संग्रौलाले अध्यक्षमा उम्मेदवारी दिइसकेका छन् भने केही पदमा पनि उम्मेदवारी घोषणा भइसकेको छ । 
 
 
आइतबार दिउँसो काठमाडौं जिल्ला प्रशासन कार्यालयमा भेटिएको अध्यक्षकी प्रत्यासी तथा संघकी वर्तमान महासचिव सरिताले केही प्राविधिक कारणले संघको आसन्न चुनाव स्थगित भएको बताइन् । 'चुनाव स्थगित हुनुको धेरै कारण छन् । त्यो बोलेर म संघको बदनाम गर्न चाहन्नँ । केही प्राविधिक कुरा मिलाएर हामी चाँडै चुनाव गर्नेछौं', उनले भनिन् । 
 
कलाकार संघको सदस्यता सम्बन्धी नियम मिचेको आरोप लगाउँदै कलाकार आरडीले जिल्ला प्रशासन कार्यालयमा लामिछानेविरुद्ध उजुरी दिएका हुन् । उनले लामिछानेमाथि दुईवटा फिल्ममा मात्र अभिनय गरेर सदस्यता प्राप्त गरेको आरोप लगाएका छन् । संघको नयाँ विधानमा भने पाँचवटा फिल्ममा अभिनय गर्नुपर्ने प्रावधान राखिएको छ । 
 
आइतबार विहानदेखि संघको आसन्न अधिवेशनका लागि निर्वाचन समितिले मनोनयन दर्ता गरिरहेको थियो । लगभग २० जनाभन्दा बढीले उम्मेदवारी दर्ता गरिसकेपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट तत्काल चुनाव स्थगित गर्न आदेश आएको थियो । अब संघले दर्ता भइसकेको मनोनयन फिर्ता गर्ने भएको छ ।
Most Visited News (monthly)