गएको करीब ४ महिनादेखि नेपाली फिल्मले हलमा अपेक्षाकृत व्यापार गर्न सकेका छैनन् । हरेक हप्ता निर्माताको करोडौंको लगानी डुबिरहेको छ । तर, प्रदर्शनमा आउने फिल्मको संख्यामा भने कमी आएको देखिन्न । हरेक हप्ता दुईभन्दा बढी फिल्म प्रदर्शनमा आइरहेका हुन्छन् । अहिले नेपाली फिल्मका दर्शक हराएको चर्चा हुन थालेको छ । आशा गरिएका ठूला स्टारका फिल्मले समेत दर्शक तान्न सकिरहेका छैनन् ।
शुक्रवारबाट प्रदर्शनमा आएका दुई आशातित फिल्म ‘साइँली’ र ‘शुभ लभ’ चाहिँ कस्तो चले त ? धेरैका लागि चासोको विषय हुनसक्छ । दुई फिल्ममध्ये ‘साइँली’ ले केही राम्रो व्यापार गर्न सफल भए पनि अपेक्षाकृत भने छैन । शुक्रवार दुबै फिल्ममा दर्शकको खडेरी लागेको थियो । शनिबार भने प्रायः हलमा दर्शक अभाव भएन । राजधानी भित्र र बाहिरका अधिकांश हलमा शनिबार दुबै फिल्मको व्यापार सन्तोषजनक रहेको वितरक बताउँछन् ।
‘शुभ लभ’ वितरणको जिम्मा लिएको एफडि कम्पनीका म्यानेजिङ डाइरेक्टर शुशील पोखरेलले फिल्मले दुई दिनमा सन्तोषजनक व्यापार गरेको फिल्मीखबरलाई बताए । उनी भन्छन्, 'शुक्रवार केही कमजोर रहे पनि शनिबार फिल्मले देशभर राम्रो व्यापार गरेको छ । माउथ पब्लिसिटी राम्रो भएकाले आइतबारबाट दर्शक बढ्ने विश्वास छ ।' मल्टीप्लेक्स स्क्रिन धेरै भएकाले फिल्मको व्यापार मोफसलभन्दा राजधानीमा राम्रो रहेको उनको भनाई छ ।

उनी फिल्मको दुई दिने कलेक्सन अनुमानित १८/२० लाख ग्रस रहेको बताउँछन् । फिल्मलाई दर्शकबाट मिश्रित प्रतिक्रिया मिलेको छ । ज्योतिष विधामा छोटो समयमै लोकप्रियता कमाएका हरिहर अधिकारी र नव-अभिनेत्री क्रिस्टिन पौडेलको कामलाई फिल्म हेर्नेहरुले मनपराएका छन् । साथै, फिल्मको कथाले धेरैको ध्यान खिचेको छ । प्रदीप कुमार उदय निर्मित यो फिल्मलाई सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् ।
यस्तै, हरेक फिल्ममा आफ्नै गाउँघरको कथा पस्किँदै आएका रामबाबु गुरुङ निर्देशित फिल्म ‘साइँली’ लाई भने नकारात्मक प्रतिक्रिया अत्यन्त कम छ । दर्शक र समीक्षक दुबैले फिल्मको मुक्तकण्ठले प्रशंसा गरेका छन् । मौलिक कथा, कलाकारहरुको अभिनय र निर्देशक गुरुङको निर्देशकिय क्षमताको धेरैले तारिफ गरेका छन् । बलियो ‘वर्ड अफ माउथ’ का कारण फिल्मले हलमा राम्रो दर्शक तानिरहेको वितरक मनोज राठी बताउँछन् ।
'फिल्मको ओपनिङ राम्रो छ । शुक्रवारभन्दा फिल्मको व्यापार शनिबार तेब्बर बढी छ । दर्शक र समीक्षक दुबैले रुचाएका कारण फिल्मको व्यापार आइतबारबाट झन् उकालो लाग्ने विश्वास छ', उनले भने । उनका अनुसार, शनिबार बिहानैदेखि राजधानी भित्र र बाहिरका मल्टीप्लेक्समा फिल्मले पाएको सोज अधिकांश सोल्ड आउट थिए । फिल्म बक्सअफिसमा लामो रेसको घोडा बन्ने वितरक राठीले दाबी छ ।
उनले फिल्मको दुई दिने कलेक्सन आइतबार साँझसम्म हातमा पर्ने बताए । गायक हेमन्त रानाको चर्चित गीत ‘सुन साइँली’ बाट बीजारोपण भएको यो फिल्मको मूलकथा अभिनेता गौरव पहारी र अभिनेत्री मेनुका प्रधानको वरपर घुमेको छ । टाइटल क्यारेक्टरमा मेनुका छिन् । अभिनेता दयाहाङ राई, नव-अभिनेत्री केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि यसमा अभिनय छ ।

