अभिनेता प्रदीप खड्का आफ्नो फिल्मको प्रचारमा कुनै कसर बाँकी राख्न दिँदैनन् । फिल्म रिलिजको मुखमा रहँदा प्रचारमा उनले डेढदेखि दुई महिनासम्म भोक-निन्द्रा नभनि समय दिन्छन् । उनीबाट अरु कलाकारहरुले पनि फिल्मको प्रचार गर्ने शैली सिक्नुपर्ने भन्ने गरिन्छ । अहिले उनी यही शुक्रवार प्रदर्शनमा आउन लागेको उज्जवल घिमिरे निर्देशित फिल्म 'लभ स्टेशन' को प्रचार-प्रसार चुस्त बनाइरहेका छन् ।
मिडियासँग अन्तर्वार्तासँगै कलेज क्याम्पियनमा दौडिरहेका उनी आइतबार अभिनेत्री करिश्मा मानन्धरले एसईई परिक्षा दिइरहेको विजयस्मारक विद्यालयमै पुगेर फिल्मको प्रचार गरे । हातमा फिल्मको पोस्टर बोकेर पुगेका उनले करिश्मासँग भेट गर्दै एसईई परिक्षाका लागि शुभकामना दिए । उनले पनि प्रदीपलाई फिल्म 'लभ स्टेशन' को सफलताको शुभकामना दिइन् ।
प्रदीपले आफ्नो पूरा परिवार करिश्माको प्रशंसक रहेको बताए । 'पढाईलाई उमेरले छोक्दैन' भन्ने उदाहरण पेश गरेकी करिश्माको तारिफ गर्दै उनले भने- 'उहाँ हामी सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । मेरो ममी पनि उहाँले एसईई दिएपछि फेरि अध्ययन सुरु गर्ने सोचमा हुनुहुन्छ । मेरो ममीजस्तै अरु धेरै करिश्मा दिदीबाट प्रभावित हुनुहुन्छ ।' उनी करिश्मासँग फिल्ममा काम गर्ने इच्छा रहेको पनि बताउँछन् ।
उनले 'लभ स्टेशन' मा करिश्मालाई लिने प्रयास भएको पनि रहस्य खोले । 'उहाँलाई हामीले फिल्ममा लिने प्रयास गरेका थियौं । तर, उहाँ त्यसबेला एसईई परिक्षाको तयारीमा हुनुहुन्थ्यो । म चाहिँ उहाँसँग काम गर्न एकदमै इच्छुक छु', प्रदीपले भने । करिश्माले भने प्रदीप आफ्नो मनपर्ने अभिनेता रहेको बताइन् । उनले भनिन्, 'मलाई नयाँमा एकदमै मनपर्ने अभिनेता प्रदीप हो । उहाँले अभिनय पनि राम्रो गर्नुहुन्छ ।'
टिमअप हुने सम्भावना कति छ ? भन्ने पत्रकारको प्रश्नमा उनले भनिन्, 'सँगै काम गर्ने मौका भविष्यमा अवश्य आउला । मसँग नभए पनि मेरी छोरीसँग आउला । अथवा, मेरो प्रोडक्सनसँग आउन सक्छ । सँगै काम गर्ने मौका मिले नगर्ने भन्ने कुरै आउँदैन ।' फिल्म 'प्रेमगीत ३' मा अभिनेता राजेश हमाल, प्रदीपको पिताको भूमिकामा रहने चर्चा छ । आमाको रोलमा करिश्मा हुने सम्भावना रहला ?
पत्रकारको यस प्रश्नमा करिश्माले जवाफ दिइनन् । प्रदीपले भने राजेश हमाल र करिश्मा मानन्धर आफूलाई सबैभन्दा मनपर्ने पेयर रहेको बताउँदै भने- 'नेपाली फिल्म इन्डस्ट्रीको उहाँहरु 'मोस्ट फेभरेट पेयर' हुनुहुन्छ । 'प्रेमगीत ३' मा उहाँहरु दुईजना हुनुभयो भने त गजब नै हुने थियो ।' सम्भवतः प्रदीप र करिश्माको पहिलो पटक भेट भएको हो । दुईलाई एउटै फिल्ममा हेर्ने दर्शकको ठूलो चाहना छ ।

