नेपाली कलाकारहरु अभिनय निखार्न भन्दा पारिश्रमिक वृद्धिमा बढी गम्भीर हुने गरेको पाइन्छ । पारिश्रमिक धेरै मागे र पाए उनीहरु आफूलाई सबैभन्दा ठूलो स्टार सम्झन्छन् । हुनत, कला क्षेत्र हल्लै हल्लाको क्षेत्र हो । यहाँ चल्ने र विक्ने भनेकै सिर्फ हल्ला मात्र हो । अहिले बजारमा चलेका अभिनेताले ५० लाख र अभिनेत्रीले १५ लाख डिमाण्ड गर्न र लिन थालेको चर्चा छ । तर, यसलाई सत्यता मान्ने कुनै आधार छैन ।
करीब ६ महिना अगाडि अभिनेता अनमोल केसी आफैंले एक अन्तर्वार्तामा दुई फिल्म 'ब्याचलर बन्टी' र 'ए मेरो हजुर ३' मा गरि कुल १ करोड पारिश्रमिक बुझेको गर्वका साथ बताएका थिए । यसको मतलब उनले एक फिल्मबापत ५० लाख बुझे । तर, अनमोलले दुई फिल्म ४५ लाखभन्दा कममा साइन गरेको निकट स्रोत बताउँछ । दुईमध्ये 'ब्याचलर बन्टी' भने उनले रोल चित्त नबुझेको भन्दै छाडिसकेका छन् ।
अभिनेता प्रदीप खड्काले पनि एक निर्माताले आफूलाई ५० लाखको अफर गरेको बताएका थिए । तर, उनले उनै निर्माताको फिल्म ‘बेला’ ४० लाखभन्दा कम पारिश्रमिकमा साइन गरेको फिल्मीखबरलाई जानकारी प्राप्त छ । यसबाट नै स्पष्ट हुन्छ कि, बजारमा चल्ने कलाकारको महँगो पारिश्रमिकको चर्चा फगत एक हल्ला मात्रै हुन् । सिर्फ अरुको नजरमा आफूलाई ठूलो देखाउन ! तर, वास्तविकता हल्लाभन्दा फरक हुन्छ ।
(1).jpg)
बजारको हल्लालाई आधार मान्ने भने अहिले चलेका अभिनेताभन्दा कम पारिश्रमिक बुझ्दैनन् अभिनेत्रीहरु पनि । नम्रता श्रेष्ठ, साम्राज्ञी आरएल शाह र पूजा शर्माले एक फिल्मबाट १५ लाख पारिश्रमिक बुझ्ने र डिमाण्ड गर्ने गरेका छन् । पूजाले त कसैले विश्वास गर्दैनन् भनेर एग्रिमेन्ट पेपर नै सार्वजनिक गरिन् । तर, उनी जसरी अरु कुनै कलाकारले आजसम्म यो कदन उठाउन सकेका छैनन् । बोलीमै विश्वास गर्नुको अरु विकल्प छैन ।
महँगो पारिश्रमिक बुझ्ने अभिनेत्रीको सूचीमा अब अभिनेत्री जसिता गुरुङले पनि आफूलाई समावेश गर्ने देखिएको छ । गत वर्ष प्रदर्शनमा आएको फिल्म 'लिलिबिली' बाट सम्भावना बोकेकी अभिनेत्रीको रुपमा लिइएको उनले भेट्रान निर्देशक अशोक शर्माको नयाँ फिल्म ‘रातो टिका निधारमा’ मा १० लाख पारिश्रमिक डिमाण्ड गरेको खबर प्राप्त छ । यद्यपि, यसबारे न निर्देशक शर्मा न अभिनेत्री जसिताले नै मुख खोलेका छन् ।
यही चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लभ स्टेशन' को प्रमोसनमा व्यस्त उनले तेस्रो फिल्मको रुपमा अहिलेसम्म कुनै फिल्म साइन गरेकी छैनन् । कोरियोग्राफर तथा निर्देशक रेनशा वान्तवा राईको नयाँ फिल्म 'आई एम ट्वान्टिवान' पनि उनलाई अप्रोच गरिएको छ तर, कागजी सम्झौता भने भएको छैन । ‘रातो टिका निधारमा’ भने उनी १० लाख पारिश्रमिक पाए गर्ने मुडमा रहेको स्रोत बताउँछ ।
तर, निर्देशक शर्मा उनलाई केही कम गर्न आग्रह गरिरहेका छन् । उनी जसितालाई ८ लाख बुझाउन तयार छन् तर, उनले उक्त रकममा गर्न 'ग्रिन सिग्नल' देखाएकी छैनन् । केही दिनयता निर्देशक शर्मा र अभिनेत्री जसिताबीच लगातार छलफल भइरहेको छ । यो फिल्ममा निर्देशक शर्मा आफ्नै छोरा अंकित शर्मालाई डेब्यू गराउने तयारीमा छन् । जसिताले यो फिल्म गर्छिन् वा गर्दिनन् ? यसका लागि भने प्रतिक्षा गर्नैपर्ने हुन्छ ।

