Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई फिल्म गरेर पैसा कमाउनु छैन : सलिनमान

फिल्मीखबर, काठमाण्डौ, 2019/03/30
गत वर्ष प्रदर्शनमा आएको अभिनेत्री झरना थापा निर्देशित डेब्यू फिल्म 'ए मेरो हजुर २' बाट अभिनेता सलिनमान बनियाको नेपाली फिल्मी संसारमा उदय भएको थियो । अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्काले फिल्म गर्न अस्वीकार गरेपछि झरनाको नजरमा परेका थिए, उनी । उनको लुक्स र गेटअपले झरनालाई तानिहाल्यो र बनाइन् अभिनेत्री साम्राज्ञी आरएल शाहको हिरो । 
 
फिल्म रिलिज नहुँदै सलिनलाई नेपाली फिल्ममा सम्भावना बोकेको अभिनेताको रुपमा हेर्न थालिएको थियो । डेब्यू फिल्म बक्सअफिसमा जबरजस्त हिट भएपछि सलिन राम्रै चम्किए । अभिनय कमजोर भएता पनि उनको लुक्स, हेयर स्टाइल र ड्रेसअपले दर्शकलाई भुतुक्कै बनायो । अनमोल र प्रदीपका लागि उनी 'थ्रेट' हुनसक्ने चर्चा पनि सुरु हुन थालेको थियो/छ । 
 
 
'ए मेरो हजुर २' गर्नुभन्दा अगाडि अत्यन्त कम नेपाली फिल्म हेरेका उनलाई फिल्ममा लिन अहिले निर्माताबीच तानातान हुने गरेको छ । तर, उनलाई फिल्म गरेर पैसा कमाउनु छैन । सम्पन्न परिवारमा हुर्किएका सलिन दर्शकको मायाका लागि फिल्म गर्ने बताउँछन् । 'मलाई फिल्म गर्ने कुनै चाहना थिएन । बरु, बडि विल्डिङमा सौख थियो । यद्यपि, फिल्ममा प्रवेश गरिहालेँ अब राम्रो काम गरेर देखाउँछु', एक भेटमा उनी सुनिए । 
 
उनको दोस्रो फिल्म 'यात्रा' यही चैत २९ मा रिलिज हुँदैछ । यसमा उनले एक भ्लगरको भूमिका निभाएका छन् । दोस्रो फिल्मको रुपमा 'यात्रा' नै रोज्नुको कारणबारे उनले भने- 'मलाई चरित्र साह्रै मनपर्‍यो। मलाई सुहाउने भूमिका भएकै कारण गरेको हुँ ।' अभिनय कमजोर रहेको आलोचना पनि यसपटक कम हुने उनको विश्वास छ । 'यसपटक अभिनयमा निखारता ल्याउन एकदमै मेहनत गरेको छु', उनले भने । 
 
सम्भवतः नेपाली फिल्मको इतिहासमा सबैभन्दा धेरै दिन छायांकन भएको फिल्म हो 'यात्रा' । करीब ९५ दिन क्यामेरा 'अन' भएको थियो । छायांकन अवधि लम्बिएका कारण निर्माताको लगानी तेब्बर बढ्यो । निर्माता केशव भट्टराईका अनुसार, फिल्ममा करीब ३ करोडको लगानी छ । यो लगानी सुरक्षित गर्न मात्र फिल्मले घरेलु बजारमा ९ करोड ग्रस कलेक्सन गर्नुपर्छ । 
 
सलिनको भरमा फिल्मले लगानी उठाउन गाह्रो रहेको फिल्म पण्डितहरु बताउँछन् । 'यात्रा' ले घोषणा गरेको प्रदर्शन मितिमा अभिनेता अनमोल केसी स्टारर फिल्म 'ए मेरो हजुर ३' पनि भिड्दैछ । दुई फिल्म बक्सअफिसमा आमने-सामने हुँदा दर्शक र हल संख्या विभाजित हुन्छ, जसको सिधा प्रभाव कलेक्सनमा पर्छ । तर, पनि सलिन फिल्मले लगानी सुरक्षित गर्नेमा ढुक्क छन् । फिल्म राम्रो बनेका कारण कमाई पनि राम्रो हुने उनको विश्वास छ । 
 
'यात्रा' को लिड हिरो भएका कारण सलिनको काँधमा ठूलो जिम्मेवारी छ । उनलाई निर्माताको करोडौंको लगानी 'रिकभर' गर्नुपर्ने चुनौती छ । साथमा वर्षकै ठूलो फिल्म 'ए मेरो हजुर ३' सँग भिडन्त गर्नुपर्ने छ । कति प्रेसर महशुस गरिरहनुभएको छ ? एक कफी भेटमा उनले भने- 'प्रेसर त एकदमै छ । यस्तै प्रेसर हुन्छ भनेर नै हामीले एकदमै मेहनत गरेका छौं । मलाई सबैले सहयोग गर्नुभएको छ । हेरौं अब भोली के हुन्छ । आशा छ राम्रै हुन्छ ।' 
 
 
'यात्रा' लाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । ३ दर्जन बढी फिल्ममा सहायक निर्देशक भएर काम गरेका उनले यही फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् । फिल्ममा सलिनको अपोजिटमा मलिका महत छिन् । सलोन बस्नेत, रेअर राई, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । यसलाई संजय लामाले खिचेका हुन् ।  
Most Visited News (monthly)