
चलचित्र प्रदर्शन हल र वितरकहरूको पेसागत संस्था नेपाल चलचित्र संघले ‘एक दिवसिय चलचित्र उत्सव’ राजधानीमा आयोजना गर्ने भएको छ । यही चैत २१ गते बिहीवार क्यूएफएक्स कुमारीमा तीन फरक-फरक समयका तीन चर्चित फिल्म प्रदर्शन गरिने संघका अध्यक्ष प्रदीप कुमार उदयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
आलोक नेवाङ निर्देशित फिल्म 'सानो संसार', निश्चल बस्नेत निर्देशित फिल्म 'लुट' र दीपाश्री निरौला निर्देशित फिल्म 'छक्का पञ्जा ३' चलचित्र संघले ‘एक दिवसिय चलचित्र उत्सव’ मा प्रदर्शन गर्न लागेको हो । यस उत्सवले नेपाली चलचित्रलाई महत्त्वपूर्ण योगदान पुग्ने संघको विश्वास छ ।
अध्यक्ष उदयद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएका छ, 'नेपाल चलचित्र संघले आफ्नो स्थापना कालदेखि नै नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार, प्रबद्र्धन एवं सम्बद्र्धनमा महत्त्वपूर्ण भूमिका निर्वाहा गर्दै आएको छ । यही परिप्रेक्षमा नेपाली चलचित्रको बजार प्रबद्र्धनका लागि राजधानीमा ‘एक दिवसिय चलचित्र उत्सव’ आयोजना गर्न लागेका छौं ।'

'सानो संसार' मा विनय श्रेष्ठ, नीर शाह, कर्मा शाक्य, जीवन लुईंटेललगायतका कलाकारहरुको अभिनय थियो भने 'लुट' मा दयाहाङ राई, ऋचा शर्मा, सौगात मल्ल, कर्मा शाक्यलगायतका कलाकारहरुको प्रमुख भूमिका थियो । यस्तै, फिल्म 'छक्का पञ्जा ३' मा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाइँलगायतका कलाकारहरुको अभिनय छ ।

