यस वर्षको चैत २९ मा ‘हेभिवेट भिडन्त’ हुँदैछ । अभिनेता अनमोल केसी र डेब्यू गर्ल सुहाना थापा स्टारर फिल्म ‘ए मेरो हजुर ३’ र ‘स्टाइलिस’ अभिनेता सलिनमान बनिया र डेब्यू अभिनेत्री मलिका महत अभिनीत फिल्म ‘यात्रा’ एकसाथ प्रदर्शनमा आउँदैछ । दुई फिल्मको भिडन्तले केही दिनयता सिंगो फिल्म क्षेत्र तातेको छ । कसको पल्लाभारी हुने हो ? भन्ने खालका बहस फिल्मवृतमा सुरु भएको छ ।
यो डेट सबैभन्दा अगाडि ‘ए मेरो हजुर ३’ ले रोजेको थियो । फ्लोरमा जानुभन्दा अगाडि निर्माण टिमले सार्वजनिक गरेको फस्टलुक पोस्टरमा फिल्मको प्रदर्शन मिति चैत २९ उल्लेख थियो । यसको केही हप्तापछि फिल्म ‘यात्रा’ ले पनि सोही मितिमा फिल्म ल्याउने निधो गर्दै फस्टलुक पोस्टर जारी गर्यो । यसअघि यो फिल्म असोज ५ मा आउने चर्चा थियो । साथै, फागुन १७ मा रिलिज हुने पनि सुनिएको थियो ।

अन्ततः अब दुई फिल्म बक्सअफिसमा आमने-सामने हुँदैछन् । दुबै फिल्मले प्रचार-प्रसारलाई तिव्र बनाएको छ । यसबीच, ‘ए मेरो हजुर ३’ का निर्माता सुनिल कुमार थापाले आफूले एक वर्ष अगाडि नै प्रदर्शन मिति घोषणा गरेको बताएका छन् । बुधवार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले आफू कुनै फिल्मसँग जुध्न नगएको बताउँदै अर्को फिल्म आफ्नो फिल्मसँग जुधन आएको बताए ।
‘जुन दिन मैले अनमोललाई हिरोको रुपमा अनुबन्ध गरेको थिएँ त्यही दिन फिल्म चैत २९ मा ल्याउँछु भनेर दर्शकसामु वाचा गरेको थिएँ । त्यही वाचा र अठोट अनुसार नै मैले फिल्म घोषित मितिमा ल्याउन लागेको हुँ’, उनले आफूलाई फिल्म जुधाएको आरोप लगाउनेलाई उल्टै प्रश्न गर्दै भने- ‘मैले कसरी फिल्म जुधाएँ ? जबकि, एक वर्ष अगाडि नै मैले यो डेट (चैत २९) मा फिल्म ल्याउँछु भनेर घोषणा गरेको थिएँ ।’
उनले फिल्म ‘यात्रा’ टिमतर्फ इंकित गर्दै अगाडि भने- ‘उहाँहरु असोज ५ गते ल्याउने भनिएको फिल्म चैत २९ मा हाल्नुहुन्छ । अनि, फिल्म मैले जुधाएँ कि उहाँहरुले जुधाउनु भएको हो ? दुई फिल्म जुध्दा उहाँहरुलाई पनि घाटा छ मलाई पनि घाटा छ । सकेसम्म नजुधाऔं भनेर मैले धेरै विन्ती गरेँ तर, उहाँहरुले मलाई नै सर्दिनु पर्यो भन्दै विन्ती गर्नुभयो । तर, मैले रोजिसकेको डेट छाड्न नैतिकताले पनि दिएन ।’

