Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(7 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘लभ स्टेशन’ एकदमै फिल्मी छ : प्रदीप खड्का

फिल्मीखबर, काठमाण्डौ, 2019/03/27
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘लिलिबिली’ मा निकै रुचाइएको जोडी हो- प्रदीप खड्का र जसिता गुरुङ । फिल्म रिलिजलगत्तै फिल्मीखबरले दुईबीच अफेयरको खबर बाहिर ल्याएपछि उनीहरुप्रति चासो राख्ने दर्शकहरु निकै बढेका छन् । अहिले उनीहरुलाई रियल कपल बन्न दर्शकको आग्रह कम छैन । तर, दुबैले न प्रेम न त रियल कपल बन्ने सम्भावना नै रहेको बताउँदै आएका छन् । 
 
रिलमा सहकार्य नटुट्ने स्पष्ट पार्दै आएका प्रदीप र जसिताबीच दोस्रो पटक सहकार्य भएको फिल्म ‘लभ स्टेशन’ यही चैत २२ मा रिलिज हुँदैछ । भेट्रान निर्देशक उज्जवल घिमिरेले यसको निर्देशन गरेका हुन् । फिल्ममा प्रदीप गायक सागरको भूमिकामा छन् । भने, जसिताले रानीको भूमिका निभाएकी छन् । दुबै फिल्मलाई लिएर निकै उत्साहित छन् । जसिता भने उत्साहितभन्दा तीन गुणा बढी नर्भस रहेको बताउँछिन् । 
 
उनी भन्छन्, ‘‘लिलिबिली’ पहिलो फिल्म भएकाले मेरा कमी-कमजोरी भएको भए पनि माफी मिल्यो । तर, यसपटक दर्शकहरुले पनि मबाट एकप्रकारको अपेक्षा राख्नुभएको छ । त्यो अपेक्षा पूरा गर्न सक्छु कि सक्दिन भन्नेमा एकदमै नर्भस छु ।’’ प्रदीप भने आफूले यसअघि गरेका फिल्मभन्दा ‘लभ स्टेशन’ विल्कुलै फरक रहेको बताउँछन् । ‘मेरा यसअघिका फिल्मभन्दा यो फिल्म एकदमै फिल्मी छ’, उनले भने । 
 
 
‘पहिलाका मेरा फिल्म केटा-केटीमा केन्द्रित थिए । कुनै फिल्म रियालिटीसँग नजिक भएर बनेका थिए’, प्रदीपले अगाडि भने- ‘‘लभ स्टेशन’ मा चाहिँ भिलेन साँचिक्कै भिलेन जस्तो छ । हिरो साँचिक्कै हिरो स्टाइलले इन्ट्री गर्छ । फिल्म एकदमै फिल्मी छ तर लजिकली र टेक्निकली बलियो छ ।’’ उनले फिल्मका लागि लामो समय तबला सिकेको पनि बताए । उनी आफूले जीवनमा गर्न नसक्ने चीजमध्येको एक गायनलाई मान्छन् । 
 
फिल्ममा आफ्नो भूमिका स्पष्ट पार्दै प्रदीप भन्छन्, ‘फिल्ममा मैले निभाएको चरित्र सागरलाई ठूलो गायक बन्ने चाहना छैन । मात्र लभ स्टेशन भन्ने एउटा रेस्टुरेन्ट छ र त्यहाँ आउने ग्राहकलाई मनोरञ्जन गराउनका लागि म गायकको रुपमा प्रस्तुत छु ।’ फिल्मको ट्रेलरमा उनी एक बच्चा खोजीमा पनि देखिएका छन् । ‘जुन बच्चाको फोटो लिएर म २२ वर्षदेखि खोज्दै हिँडिरहेको छु त्यो नै फिल्मको ‘ब्याक बोन्ड’ हो’, उनले प्रस्ट्याए । 
 
फिल्ममा रमेश बुढाथोकी, सरु बिष्ट, रवि डंगोल, प्रकाश शाह, प्रिया रिजाल, रेशु भट्टराई, कालु राना, विनोदकुमार पौड्याल, दिनेश काफ्ले लगायतका कलाकारको पनि अभिनय छ । निर्देशक घिमिरेका अनुसार, यो सांगीतिक प्रेम कथामा आधारित पारिवारिक फिल्म हो । आलोक शुक्लाको छायांकन रहेको फिल्मका निर्माता गोविन्द शाही हुन् । यसमा शम्भुजीत बाँस्कोटा, दीपक शर्मालगायतको संगीत छ ।
Most Visited News (monthly)