नेपाली फिल्ममा नयाँ पुस्ताको आगमन दिनानुदिन वृद्धि भइरहँदा पुराना कलाकारहरु भने विस्तारै सुस्ताउँदै गएका छन् । एक समय नेपाली फिल्ममा एकछत्र राज गर्ने कलाकारहरु कति त पलायन भइसके भने केही अझै अभिनयमा सक्रिय छन् । कतिले भने फिल्म मेकिङतर्फ आफूलाई ढालेका छन् । उदाहरणको रुपमा अभिनेत्री झरना थापा र अभिनेता भुवन केसीलाई लिन सकिन्छ ।
लामो समय काँचको पर्दाबाट टाढा रहेका कलाकारहरुको आगमन पनि धेरथोर भइरहेको अवस्थामा केही वर्ष अगाडिसम्म नेपाली फिल्ममा आफ्नो राम्रो पकड बनाएका अभिनेता अर्जुन कार्की पनि अब कमब्याक गर्ने मुडमा देखिएका छन् । करीब ७ वर्षदेखि उनी सेतो पर्दाबाट टाढा छन् । उनको पछिल्लो रिलिज फिल्म ‘बजार’ हो, जुन ७ वर्ष अगाडि फिल्म 'लुट' सँग एकसाथ प्रदर्शनमा आएको थियो ।
.jpg)
यो फिल्मको असफलताले उनलाई नराम्रो झट्का दियो । यसपछि उनले फिल्म गर्ने आँट जुटाउन सकेनन् । विस्तारै फिल्मबाट दूरी बढाउँदै गर्दा उनले सगरमाथाको सफलतापूर्ण आरोहण गरे । तर, सगरमाथा चढ्ने क्रममा मौसम अनुकुल नहुँदा एकै ठाउँमा ३० घण्टासम्म बस्नु पर्दा उनले खुट्टा र हातका केही औंला नै गुमाए । अब भने उनी पुरानै जोश र जाँगर बोकेर फेरि फिल्ममा फर्किने सोचमा छन् ।
फिल्म ‘जंगली मान्छे’ बाट हिरो बन्ने बाल्यकालको सपना पूरा गरेका उनले 'लुट' पछि फिल्म क्षेत्रले नयाँ रुप लिएको र 'लुट' जस्ता फिल्मको दबदबा बढेपछि फिल्म क्षेत्रबाट दूरी बनाएको एक अन्तर्वार्तामा बताएका छन् । एक्सन हिरोको रुपमा आफूलाई नेपाली फिल्म क्षेत्रमा स्थापित गरेका उनी अब भने फिल्म गर्ने रहर पलाएको बताउँछन् । 'फिल्म क्षेत्रलाई धेरै मिस गरिरहेको छु । चाँडै कमब्याक हुनसक्छ', उनले भनेका छन् ।
'लभ स्टोरी', 'कृष्ण बाबु', 'कन्यादान', 'दोस्ती', 'टक्कर दुई मुटुको', 'इज्जतदार', 'दिदी भाई', 'धुम' लगायतका फिल्ममा काम गरेका उनले प्रायः अभिनेता विराज भट्टसँग फिल्म गरेका छन् । उनीहरु रियलमा निकै मिल्ने साथी हुन् । आजभोली अर्जुन होटल व्यवसायमा व्यस्त छन् । चाँडै उनी इटहरीमा दोस्रो होटल खोल्दैछन् । निकै कमलाई थाहा होला भर्सटायल अभिनेता विपिन कार्की उनका सहोदर भाइ हुन् ।

