Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 5.00/5.00)
Text size:-
+
-

बोर्ड अध्यक्षकै फिल्ममा द्वअर्थी संवाद, किन गरिएन ट्रेलर सेन्सर ?

फिल्मीखबर, काठमाण्डौ, 2019/03/26
'छक्का पञ्जा' सिरिज सुपरहिट भएपछि केही समययता कमेडीको चास्नी हालेर फिल्म निर्माण गर्ने क्रम ह्वात्तै बढेको छ । तर, कमेडीको नाममा दर्शकलाई हँसाउनकै लागि द्वअर्थी संवाद जबरजस्ती हाल्ने प्रवृति भने नराम्रोसँग हुर्किँदै गएको छ । अहिले हरेक हप्ता फेरिने फिल्म कमेडी कथावस्तुमै बनेका छन् । र, अधिकांश फिल्म हँसाउने धङधङीबाट मुक्त छैनन् । 
 
दुई/चारवटा चुटकिला जोडेर, चार्ली चाप्लिनले जस्तो मुख बङ्ग्याएर र पच्नै गाह्रो हुने द्वअर्थी संवाद गाँसेर फिल्म बन्ने अहिले नराम्रो परम्पराको विकास भएको छ । कथाअनुसार दृश्य बुन्नुभन्दा बिना प्रशंसा दर्शकलाई हँसाउन निर्देशकले बढी मिहिनेत गरेको देखिन्छ । यसैले त आजभोली फिल्मबाट नेपाली मौलिकपन लोप हुँदै गएको आवाज उठ्न थालेको छ । तर, यसतर्फ कोही चिन्तित छन् भन्ने देखिन्न !
 
अरु फिल्मकर्मीको कुरा छाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष केशव भट्टराई निर्मित फिल्म नै द्वअर्थी संवादबाट अछुतो रहन सकेन । उनी निर्मित फिल्म 'यात्रा' को सोमवार ट्रेलर रिलिज भयो । ट्रेलरमा कलाकार राजाराम पौडेलले बोल्ने संवाद प्रायः द्वअर्थी छन् । तर, निर्माण टिम यसलाई द्वअर्थी मान्न तयार छैन । निर्माता भट्टराईले आलोचना गर्नुपर्ने संवाद नलागेपछि समावेश गरिएको बताए । 
 
 
बोर्ड अध्यक्षको रुपमा पदभार ग्रहण गर्नुभन्दा केही घण्टा अगाडि फिल्मको आयोजित ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नमा उनले भने- 'यो राजाराम दाईले बोलेको संवाद होइन । यो केशव भट्टराईले बनाएको शब्द पनि होइन । फिल्म 'यात्रा' भित्रको एउटा होमस्टे सञ्चालन गरेर बसेको पात्रले बोलेको संवाद हो । हामीले फिल्मभित्र रहेका चिजलाई लुकाउन जरुरी देखेनौं र सार्वजनिक गरेका हौं ।' 
 
कलाकार राजाराम पौडेलले भने फिल्मको ट्रेलरमा आफूले द्वअर्थी संवाद कहिँ नदेखेको बताए । उनी आफूले बोलेको संवाद द्वअर्थी नभएर आधिअर्थी रहेको बताउँछन् । यहाँ बुझ्न के पनि आवश्यक छ भने सेन्सर बोर्डको कार्यविधिमा फिल्मको ट्रेलर सेन्सर गर्नुपर्ने र ट्रेलरमा मदिराजन्य र सूर्तिजन्य वस्तुको लेबल, अतिरञ्जित रुपमा प्रस्तुत गरिएका अश्लिल दृश्य तथा संवाद समावेश भएमा त्यसलाई बन्देज लगाइने उल्लेख छ । 
 
तर, बोर्ड अध्यक्ष आफ्नो फिल्ममा द्वअर्थी संवाद नै नभएको भन्दै उम्किन खोजिरहेका छन् । साथै, फिल्मको ट्रेलरको सेन्सर पनि गरिएको छैन । सेन्सर बोर्डको कार्यविधि २०७४ को बुँदा नम्बर ७ मा फिल्मको प्रोमो अनिवार्य जाँच गर्नुपर्ने उल्लेख छ । तर, आजसम्म कुनै फिल्मको ट्रेलर जाँच गरिएको छैन । ट्रेलर जाँच सम्बन्धि पत्रकारकोे प्रश्नमा बोर्ड अध्यक्ष भट्टराईले आजसम्म कुन फिल्मको ट्रेलर जाँच भएको छ ? भन्दै प्रतिप्रश्न गरे । 
 
चलचित्र विकास बोर्डजस्तो सम्मानित संस्थाको अध्यक्ष पदमा नियुक्त भएको व्यक्तिले अरु फिल्मको ट्रेलर जाँच नभएको भन्दै आफू उम्किन खोज्नु कति व्यवहारिक छ ? बोर्ड अध्यक्षले नै सरकारले निर्माण गरेको नियम नमान्ने हो भने अरु फिल्मकर्मीले नियम पालन गरेनन् भनेर चिन्ता र चासो लिनुको कुनै औचित्य छैन । अरुले नियम पालना गरेनन् भनेर त्यसैलाई अनुशरण गर्ने कि आफूबाट सुरुवात गर्ने, अध्यक्षज्यू ? 
 
यद्यपि, अध्यक्ष भट्टराईलाई पत्रकारको प्रश्नबाट छुटकारा पाउन गाह्रो भएन । उनी पटक-पटक भनिरहेका थिए, 'म बोर्ड अध्यक्षमा नियुक्त भएको हुँ, पदभार ग्रहण गरिसकेको छैन ।' पदभार ग्रहण गरेपछि आफ्नै फिल्मलाई कारबाही गर्नुहुन्छ त ? पत्रकारको अर्को प्रश्नमा उनले 'गर्छु' भन्दै प्रतिवद्धता जनाए । सोमवार दिउँसो उनले बोर्ड अध्यक्षको पदभार ग्रहण गरेका छन् । के अब उनले ट्रेलर सेन्सर नगरेको र द्वअर्थी संवाद राखिएकोमा आफ्नै फिल्मलाई कारबाही गर्लान् ? हेर्न बाँकी छ । 
 
फिल्म 'यात्रा' को ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)