
केही महिनायता हलमा दर्शक नआएर हरेक हप्ता फेरिएका फिल्महरु डुबिरहेको अवस्थामा यसको असर शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘प्रेमलीला’ लाई पनि परेको छ । फिल्मले अपेक्षाकृत व्यापार गर्न सकेको छैन । तर, हलसम्म पुगेर फिल्म हेरेका दर्शकबाट पाएको उत्कृष्ट प्रतिक्रियाले आफू एकदमै खुसी रहेको निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्काले बताएकी छन् ।
आइतबार निर्माण टिमले आयोजना गरेको विशेष शोमा सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, कलाकर महादेव त्रिपाठीलगायतले फिल्मको तारिफ गरेका छन् । फिल्ममा अभिनेत्री दीपशिखाले गरेको मिहिनेतको सबैले मुक्तकण्ठले प्रशंसा गरे । उनले भने फिल्म सबैलाई मनपरेको बताउँदै दोस्रो पार्ट बन्न सक्नेतर्फ इशारा गरिन् ।
सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दे उनले फिल्मको कलेक्सन राम्रो नभएको धक नमानि बताइन् । ‘दर्शक हुनुहुन्न । एकदम थोरै मात्रामा दर्शकहरु हलमा हुनुहुन्छ । तर, म एकदमै खुसी छु किनकि, जति दर्शकले हेर्नुभएको छ उहाँहरुले एकदमै मनपराइदिनु भएको छ । मेरो लागि सुपरडुपर हिट हो’, खुसी हुँदै उनले भनिन् । उनले फिल्मको माउथ पब्लिसिटी राम्रो रहेको बताइन् ।
नेपाली युवती र एक भारतीय युवकको प्रेमकथामा फिल्म ‘प्रेमलीला’ आधारित छ । फिल्ममा दीपशिखासँगै भारतीय मोडल अली खान र मौसम खड्काको पनि प्रमुख भूमिका छ । पवन गौतमको छायांकन रहेको यसमा हरि लम्साल, महेश खड्का, नबिन कार्कीको संगीत छ । प्रभाकर शर्मा, सुरज तमु र रेखा शाहको पनि यसमा अभिनय छ । फिल्ममा नानीमैयाँ कार्की निर्मातामा छिन् ।

