Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘रातो टिका निधारमा’ मा रबिन्द्रको जोडी नीता

फिल्मीखबर, काठमाण्डौ, 2019/03/26
यस वर्षको दशैंमा प्रदर्शनमा आएको फिल्म 'जय भोले' को सफलतापछि भेट्रान निर्देशक अशोक शर्मा अर्को दशैंमा फिल्म ‘रातो टिका निधारमा’ लिएर आउँदैछन् । अहिले उनी फिल्मका लागि कलाकार चयनमा जुटेका छन् । लिड अभिनेता र अभिनेत्रीबाहेक अरु कलाकार फाइनल भएको निर्देशक शर्माले जानकारी दिए । सोमवार मात्र अभिनेत्री नीता ढुंगाना फिल्ममा अनुबन्ध भएकी छन् । 
 
उनी फिल्मकी लिड अभिनेत्री भने होइनन् । उनको जोडी फिल्ममा हास्यकलाकार रबिन्द्र झासँँग बाँधिनेछ । गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, निर्देशक शर्मा लिड हिरोमा अभिनेता द्वय अनमोल केसी र प्रदीप खड्कामध्ये एकलाई लिने सोचमा छन् । तर, यस विषयमा आफूले अहिलेसम्म नसोचेको उनले बताए । फिल्ममा अभिनेता राजेश हमाल र अभिनेत्री करिश्मा मानन्धर हुने पनि चर्चा छ । 
 
 
बैशाख अन्तिम साता वा जेठ पहिलो साताबाट छायांकन सुरु हुने फिल्ममा नीता र रबिन्द्रबाहेक बुद्धि तामाङ, जयनन्द लामा, राजाराम पौडेल, शिवहरी पौडेल, लक्ष्मी गिरी फाइनल भइसकेका छन् । केही दिनयता फिल्मको गीत रेकर्डिङको काम भइरहेको निर्देशक शर्माले बताए । फिल्ममा दर्शक अगाडि प्रदर्शनमा आएको निर्देशक शर्मा निर्देशित फिल्म 'अल्लारे' मा समावेश 'रातो टिका निधारमा' गीतलाई रि-एरेञ्ज गरेर राखिने छ । 
 
राजेश र करिश्मालाई फिल्म अप्रोच गरेको विषयमा निर्देशक शर्मा भन्छन्, 'अहिलेसम्म उहाँहरुलाई अफर गरेका छैनौं । गर्ने/नगर्ने विषयमा सोचेका पनि छैनौं । कथाले उहाँहरुलाई मागेको खण्डमा अवश्य अफर गर्छौं ।' फिल्ममा नभए पनि 'रातो टिका....' गीतमा भने दुईलाई लिने तयारी भइरहेको स्रोत बताउँछ । किनभने, 'अल्लारे' को यो गीतमा राजेश र करिश्मा फिचर्ड थिए । यो गीत अहिले पनि उतिक्कै लोकप्रिय छ । 
 
पुरुषोत्तम प्रधानले खिच्ने ‘रातो टिका निधारमा’ मा शम्भुजित बाँस्कोटाको संगीत रहनेछ । निर्देशक अशोक शर्माले १२ वर्षपछि फिल्म 'जय भोले' मार्फत् निर्माण र निर्देशनमा कमब्याक गरेका थिए । कमब्याक फिल्म सफल भएपछि उनी अब फिल्म निर्देशनलाई निरन्तरता दिने सोचमा छन् । डिसिएनका मालिक समेत रहेका उनले 'गरीब', 'सीता', 'नीरमाया', 'यो मायाको सागर' लगायतका फिल्म निर्देशन गरेका छन् । 
Most Visited News (monthly)