अभिनेता अनमोल केसी अभिनीत फिल्मसँग एकसाथ रिलिज हुने दोस्रो फिल्मले आजसम्म राम्रो नतिजा हात पार्न सकेका छैनन् । २ वर्ष अगाडि फिल्म 'ड्रिम्स' सँग दिनेश डिसी निर्देशित फिल्म 'फूलै फूलको मौसम तिमीलाई' जुधेको थियो । फिल्मले हलमा हावा खायो । गएको फागुन १७ मा फिल्म 'क्याप्टेन' सँग हेमराज विसी निर्देशित फिल्म 'द ब्रेकअप' रिलिज भयो । यो फिल्म पनि बक्सअफिसमा डिजास्टर साबित भयो ।
फेरि एकपटक अनमोल अभिनीत नयाँ फिल्म 'ए मेरो हजुर ३' सँग चकलेटी अभिनेता सलिनमान बनियाँ स्टारर फिल्म 'यात्रा' एकसाथ प्रदर्शनमा आउँदैछ । दुई फिल्मको प्रतिस्पर्धामा कसको जित कसको हार होला ? यसका लागि भने फिल्म रिलिजसम्म कुर्नै पर्ने हुन्छ । तर, रोचक संयोग के जुरेको छ भने सलिनको डेब्यू फिल्म 'ए मेरो हजुर २' हो । अब उनको भिडन्त आफ्नै डेब्यू फिल्मको तेस्रो सिरिजसँग हुँदैछ ।
यही चैत २९ मा रिलिज हुने दुई फिल्मको भिडन्तले यतिबेला सिनेवृत गजबले गर्माएको छ । दुई फिल्मको भिडन्तलाई अनमोल र सलिनको स्टारडम मापन हुने तराजुको रुपमा लिइएको छ । छोटो समयमा नै बलियो स्टारडम बनाएका अनमोललाई बक्सअफिसमा हराउन सलिनलाई फलामको चिउरा चपाउनुभन्दा कम हुने छैन । अनमोललाई पनि बक्सअफिसको रिंगमा सलिनलाई हराउन सहज मानिएको छैन ।
सलिनले भने अनमोलको फिल्मसँग आफ्नो फिल्म एकसाथ प्रदर्शनमा आउन लागेका कारण चुनौती महशुस गरिरहेको बताएका छन् । तर, उनले अनमोलसँग हारे पनि नभाग्ने अठोट लिएका छन् । सोमवार 'यात्रा' को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारले 'ए मेरो हजुर ३' सँगको प्रतिस्पर्धालाई लिएर उनको भनाई बुझ्न खोजे । उनले दुई फिल्म एकसाथ रिलिज हुनुलाई दर्शकहरुले प्रतिस्पर्धाको रुपमा लिएको स्वीकार गरे ।
सलिनले भने- 'बजारमा मैले जित्छु कि हार्छु भन्ने चर्चा भइरहेको छ । बरु म हार्छु तर भाग्दिनँ ।' घमाउरो शैलीमा उनले अनमोललाई नेपाली फिल्मको नम्बर वान नायक पनि बताए । उनी भन्छन्, 'मेरो प्रतिस्पर्धा नेपालको नम्बर वान नायक (अनमोल केसी) सँग हो । त्यसैले नम्बर वानसँग हार्नु भनेको ठूलो कुरा गुमाउनु होइन ।' उनले रोनाल्डो र मेस्सी पनि वल्डकपमा हारेको उदाहरण दिए ।
सलिनको 'यात्रा' लाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । यो फिल्म भ्लगरको कथामा आधारित भएर बनेको छ । मलिका महत, सलोन बस्नेत, जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि यसमा अभिनय छ । फिल्मलाई संजय लामाले खिचेका हुन् । फिल्ममा सलिनले भ्लगरको भूमिका निभाएका छन् ।
तश्बिर : आर्यन विमली

