फिल्म 'ए मेरो हजुर २' बाट सम्भावना बोकेको अभिनेताको रुपमा आफूलाई उभ्याएका सलिनमान बनियाँ स्टारर नयाँ फिल्म ‘यात्रा’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । सोमवार राजधानीमा पत्रकारलाई साक्षी राखेर निर्माण टिमले सार्वजनिक गरेको ट्रेलरमा लभ, रोमान्स, कमेडी, द्वन्द्वलगायतका पाटोलाई प्रस्तुत गरिएको छ । एक्सन र कमेडीले ट्रेलरमा प्राण भरेको छ ।
.jpg)
सम्राट शाक्य निर्देशित फिल्म यही चैत २९ मा प्रदर्शनमा आउँदैछ । निर्देशक शाक्यले फिल्मको मूलकथालाई ट्रेलरबाट प्रस्ट्याउन खोजिएको बताए । अभिनेता सलिनले फिल्ममा भ्लगरको भूमिका निभाएका छन् । उनको अपोजिटमा मलिका महत छिन् । उनले एक दृष्टिविहीन गायिकाको भूमिका निभाएकी छन् । ट्रेलरमा उनको खोजीमा सलिन देखिएका छन् ।
अभिनेता सलोन बस्नेतको भूमिका भने ट्रेलरमा खुलाइएको छैन । उनी भिलेनको भूमिकामा हुनसक्ने ट्रेलरबाट धेरथोर अनुमान काट्न सकिन्छ । जान्हवी बस्नेत, रेअर राई, प्रेक्षा बज्राचार्य, विशाल सापकोटा, राजाराम पौडेल, धिरेन शाक्यलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । फिल्ममा कथा पनि सम्राटकै रहेको छ । यसलाई संजय लामाले खिचेका हुन् ।
केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । अभिनेता सलिनले ट्रेलर रिलिज कार्यक्रममा बोल्दै फिल्ममा आफूले अभिनयमा निखारता ल्याउन निकै मिहिनेत गरेको सुनाए । उनी फिल्म राम्रो बनेको पनि दाबी गर्छन् ।
ट्रेलर हेर्नुहोस् :-

