फागुन १७ गतेबाट प्रदर्शनमा आएको फिल्म 'क्याप्टेन' ले हल नछाड्दै अभिनेता अनमोल केसी फेरि नयाँ फिल्म 'ए मेरो हजुर ३' बाट यही चैत २९ गते दर्शक भेट्न तयार छन् । यो फिल्मपछि भने उनको पाइपलाइनमा कुनै फिल्म छैन । दैनिक दुईभन्दा बढी फिल्मबाट अफर हुने गरेको भएता पनि उनले नयाँ फिल्म साइन गरेका छैनन् । अब उनी ६ महिना ग्याप लिने सोचमा छ ।
यसबीच, अनमोललाई एक बलिउड फिल्म अफर भएको छ । चैत १ गते प्रदर्शनमा आएको फिल्म ‘द म्यान फ्रम काठमाडौं’ का निर्देशक पेमा धोन्डुप अब बलिउड फिल्म निर्देशन गर्ने तयारीमा छन् । उक्त फिल्म उनले अनमोललाई अफर गरेका छन् । निकट स्रोतले फिल्मीखबरलाई दिएको जानकारी अनुसार, अनमोलले फिल्मको कन्सेप्ट एकसरो सुनिसकेका छन् । तर, उनले आफूलाई अहिलेसम्म फिल्म अफर नभएको बताए ।

फिल्मीखबरसँग फोनर्वार्तामा उनले भने- 'अहिलेसम्म मलाई उहाँ (पेमा) ले फिल्म अफर गर्नुभएको छैन ।' अनमोल फिल्म गर्न राजी भएको खण्डमा निर्देशक पेमा उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूरलाई लिने सोचमा छन् । बलिउड अभिनेता गुशलन ग्रोवरको पनि फिल्ममा अभिनय रहनेछ । फिल्मको लागत १० करोड आसपास हुने स्रोत बताउँछ । हाल फिल्मको स्क्रिप्टमा काम भइरहेको छ ।
अनमोलले फिल्मको कन्सेप्ट रुचाएको स्रोत बताउँछ । तर, उनले फाइनल स्क्रिप्ट मागेका छन् । हिन्दी भाषामा बन्ने फिल्ममा उनलाई निर्माण टिम ७० देखि ८० लाखसम्म पारिश्रमिक दिन तयार छ । उनको निर्देशक पेमासँग भने हालसम्म भेट भएको छैन । दुईबीच टिमअप गराउन एक लेखकले मध्यस्थकर्ताको भूमिका खेलेका छन् । हाल फिल्मको गीतमा भारतीय संगीतकार जतिन पण्डितले संगीत भरिरहेका छन् ।
गएको ६ महिना अगाडि पनि अनमोलले एक बलिउड फिल्म साइन गरेको खबर बाहिरिएको थियो । यो कुरा उनी स्वयंले स्वीकार गरेका थिए । तर, उक्त फिल्म बन्ने सम्भावना अब टर्दै गरेको देखिन्छ । किनकि, अचेल यो फिल्मलाई लिएर अनमोल मौन छन् । छोटो समयमा नै नेपाली फिल्ममा आफ्नो दबदबा कायम गरेका उनले पुनः बलिउड फिल्मको अफर स्वीकार गर्लान् वा रिजेक्ट ? धेरैका लागि चासोको विषय बनेको छ ।

