Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन रिलिज हुँदैछ ‘साइँली’ को सर्ट प्रोमो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/03/24
आजकाल फिल्म बनाएर मात्र काफी छैन । गतिलो प्रचार-प्रसार भएन भने जति ठूला स्टार लिएर फिल्म बनाए पनि हलमा दर्शकको खडेरी लाग्छ । बलियो प्रचार भएको खण्डमा फिल्मको इनिसियल बक्सअफिस बलियो हुने विश्वास फिल्मकर्मीमा छ । दर्शक नै फिल्मबारे अनविज्ञ भए त्यसले राम्रो व्यापार कसरी गर्न सक्छ ? यसैले फिल्म बनाएपछि प्रचार पनि राम्रोसँग गर्न अत्यन्त आवश्यक छ । 
 
 
दर्शकमाझ फिल्मप्रति कौतुहलता जगाउन अचेल फिल्ममेकर अनेकन फण्डा अपनाउने गर्छन् । हिरो-हिरोइनको अफेयरको हल्ला फैलाउनेदेखि विभिन्न प्रकारका उपहार योजनाहरु अगाडि सार्ने गरेका छन् । ठूलो खर्च लाग्ने हुँदा ठूला ब्यानरले भने विभिन्न शहरमा कन्सर्ट पनि आयोजना गर्ने गर्छन् । जसरी भए पनि दर्शकमाझ फिल्मको जानकारी पुगोस् भन्ने उद्देश्य फिल्मकर्मीमा देखिन्छ । 
 

फिल्मको प्रचारका लागि नयाँ-नयाँ शैलीको जन्म भइरहँदा यही चैत १५ गतेबाट प्रदर्शनका लागि तयार रहेको फिल्म ‘साइँली’ ले पनि विल्कुलै फरक शैलीको प्रचार थालेको छ । दर्शकलाई फिल्म रिलिज हुन बाँकी रहेको दिन स्मरण गराउँदै निर्माण टिमले दैनिक ‘काउन्टडाउन सर्ट प्रोमो’ युट्युबमा सार्वजनिक गरिरहेको छ । प्रोमोमा फिल्मभित्र समावेश आधा सेकेण्डको रोचक दृश्य समावेश गरिएको छ । 

 

 

सामाजिक सञ्जालमा सक्रिय दर्शकलाई सर्ट प्रोमोले फिल्म हेर्न थप उत्सुकता थप्ने र रिलिज हुने दिन पनि स्मरण गराउने हुँदा यो शैली अपनाएको निर्देशक रामबाबु गुरुङ बताउँछन् । गएको दुई दिनमा फिल्मको दुईवटा ‘काउन्टडाउन सर्ट प्रोमो’ सार्वजनिक भइसकेको छ । दुबै प्रोमोमा अभिनेता द्वय दयाहाङ राई र गौरव पहारीबीचको रमाइलो वार्तालाप दृश्य समावेश छ । 
 
यसअघि कुनै फिल्मले यस प्रकारको प्रचार शैली अपनाएको थिएन । फिल्मभित्रको छोटो रोचक दृृश्य सार्वजनिक गरेर हलसम्म दर्शक तान्ने टार्गेटमा ‘साइँली’ टिम कति सफल होला ? त्यो भने हेर्न बाँकी छ । यद्यपि, यो फिल्मको प्रतिक्षा गरेर बस्ने दर्शक भने धेरै छन् । ट्रेलर र गीतसंगीतले फिल्मको राम्रो हाइप निर्माण गरेको छ । खडेरी लागेको फिल्मको व्यापार यसले चलायमान बनाउने विश्वास फिल्मकर्मीमा छ । 
 

 

यो फिल्मलाई गायक हेमन्त राना र अभिनेता गौरव पहारीले मिलेर निर्माण गरेका हुन् । दयाहाङ र गौरवका अलावा फिल्ममा मेनुका प्रधान, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे, अरुण कार्कीलगायतका कलाकारको पनि अभिनय रहेको यस फिल्ममा विशाल गुरुङ र मोहन राना मगर निर्मातामा छन् । शैलेन्द्र डि कार्कीको छायांकन रहेको फिल्मका कार्यकारी निर्माता मणिराम पोखरेल हुन् । 
Most Visited News (monthly)