
केही वर्षयता बक्सअफिसमा दुईचार पैसा राम्रो छापेका फिल्मको सिक्वेल बनाउने क्रम निकै बढेको छ । अहिलेसम्म धेरै सिक्वेल बन्ने फिल्मको रेकर्ड 'नाइँ नभन्नू ल' को नाममा छ । यसपछि 'छक्का पञ्जा' को सिरिज आउँछ । अरु केही फिल्मको पनि सिक्वेल बनेका छन् तर, अत्यन्त कमले मात्र लोकप्रियता हासिल गरेका छन् । अर्थात्, अधिकांश ब्याज खाने ध्येयले मात्र प्रेरित देखिए ।
सिक्वेलको ट्रेन्ड फलो गर्दै दुई वर्ष अगाडि प्रदर्शनमा आएको मल्टिस्टारर फिल्म ‘लप्पन छप्पन’ को पनि दोस्रो पार्ट निर्माण हुने भएको छ । शुक्रवार साँझ निर्देशक मुकुन्द भट्टले एक पोस्टरमार्फत् फिल्मको पूरा ‘कास्ट एण्ड क्रियू’ को नाम सार्वजनिक गरेका छन् । फिल्मको नाम ‘लप्पन छप्पन २’ राखिएको छ । पहिलो सिरिजमा काम गरेका कलाकारहरु नै प्रायः सिक्वेलमा दोहोरिएका छन् ।
फिल्मको सिक्वेलमा दयाहाङ राई, सौगात मल्ल, अर्पण थापा दोहोरिएका छन् भने अभिनेत्री वर्षा सिवाकोटी बाहिरिएकी छन् । उनलाई मिस नेदरल्याण्ड सेकेण्ड रनरअप केरोलिन कोलिन्डाले रिप्लेस गरेकी हुन् । फिल्ममा अभिनेता अनुपविक्रम शाहीको पनि इन्ट्री भएको छ । यसमा देव कुमार, सुरविना कार्की, सृजना सिनालगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

अर्को वर्षको महाशिवरात्रीमा प्रदर्शनमा ल्याउने तयारी भइरहेको फिल्मलाई चिजकुमार श्रेष्ठ र प्रजापति सिवाकोटीले निर्माण गर्नेछन् । कार्यकारी निर्मातामा प्रकाश कुँवर र निर्मल कुमार मिश्र छन् । कथा, पटकथा र संवादमा निर्देशक भट्टलाई अमित शर्मा र विवेक पाण्डेले सघाएका छन् । पुरुषोत्तम प्रधानले खिच्ने फिल्मलाई सुरेन्द्र पौडेलले सम्पादन गर्नेछन् ।
इपी एजुकेशन अष्ट्रेलिया र गोल्डेन हिल्स् पिक्चरको संयूक्त ब्यानरमा बन्ने फिल्ममा राजेन्द्र भट्ट (मिस्टर आरजे), शम्भुजित बाँस्कोटा र दिपक आरजेको संगीत रहनेछ । फिल्ममा सिमोस तामाङ एक्सन डाइरेक्टरको रुपमा अनुबन्ध भएका छन् भने एक्सन डिजाइनरमा हिमाल केसी छन् । यसमा शैलेस श्रेष्ठले ब्याकग्राउण्ड स्कोर गर्नेछन् । फिल्मलाई ‘डेन्जरस गेम’ भनिएको छ ।

