
यही चैत २३ गते हुन लागेको चलचित्र कलाकार संघको निर्वाचनमा अध्यक्ष पदमा सरिता लामिछाने र लय संग्रौलाले उम्मेदवारी घोषणा गरेका छन् । सरिता संघकी महासचिव हुन् भने लयले यसअघिको निर्वाचनमा पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । तर, स्वर्गीय रामकेशर बोगटीसँग उनी पराजित भएका थिए । अब फेरि अध्यक्षमा उठेका छन् ।
सरिता र लय दुबैले सामाजिक सञ्जाल फेसबुकमार्फत् अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् । लयले प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका छन् । भने, सरिताले उम्मेदवारी मात्र घोषणा गरेकी छन् । स्वर्गीय बोगटीले राम्रो काम गरेको र उनले अघि सारेका कामलाई पूरा गर्ने लयले प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघको भवन निर्माण कार्य एक वर्षभित्र पूरा गर्ने, कलाकार कल्याणकारी कोषलाई निरन्तरता दिँदै कोष वृद्धि गर्ने, जीवन बीमा योजनालाई सक्रियताका साथ लागु गर्ने, कलकारहरुको हक हित, सुरक्षा, स्वास्थ्य र ज्येष्ठ कलाकारहरुको जीवन निर्वाहका लागि उचित योजना ल्याउनेलगायतका बुँदा उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा छ ।
सरिता भने केही दिनमा पत्रकार सम्मेलनमार्फत् आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारीमा छिन् । २०५५ सालदेखि कलाकारितामा आबद्ध उनले टेलिसिरियल ‘मुक्ति’ बाट अभिनय करिअर सुरु गरेकी थिइन् । यसपछि उनले दर्जन बढी टेलिसिरियलमा आबद्ध भएर काम गरिन् । उनले दर्जन बढी नेपाली फिल्ममा अभिनय समेत गरेकी छन् ।
लयले पनि थुप्रै टेलिसिरियलमा काम गरेका छन् । पछिल्लो समय उनी फिल्ममा व्यस्त छन् । ६ भन्दा बढी सानो पर्दाका टेलिश्रृंखला निर्देशन गरेका उनी फिल्म निर्देशक पनि हुन् । 'लोग्ने मान्छे' लगायतका फिल्म उनले निर्देशन गरिसकेका छन् । पुनः कलाकार संघको अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका उनले सरितालाई पराजित गर्न सहज मानिएको छैन ।

