
अमेरिकाको च्याट शो 'द व्यू' मा अभिनेत्री प्रियंका चोपडाले आफ्नो पर्सनल लाइफको बारेमा कुरा गरेकी छन् । उनले आफूलाई खराब पत्नी भनेकी छन् । उनी भन्छिन्, ‘म सबैभन्दा खराब पत्नी हुँ, किनकि मलाई खाना पकाउन नै आउँदैन । निकको परिवारमा सबै महिलालाई राम्रोसँग खाना बनाउन आउँछ । मलाई चाहिँ अण्डा र टोस्ट बनाउन मात्र आउँछ ।’
‘जब मलाई निकले प्रपोज गरेको थियो तब मैले उसलाई भनेको थिए कि, मैले तिमीबाट कयौं पटक तिम्रो मम्मीलाई राम्रो खाना बनाउन आउँछ भन्ने सुनेको छु । तर, तिमी त्यस्तो केटीसँग विवाह गर्दैछौ, जसलाई खाना बनाउन नै आउँदैन । त्यसबेला उसले आफूलाई पनि खाना बनाउन नआउने बताएको थियो’, उनले भनिन् ।
पति निक जोनससँग प्रेम, विवाह र उनको भिडियो एल्बम ‘सकर’ मा काम गर्दाको अनुभव पनि उनले साझेदार गरिन् । प्रियंका चोपडाले गएको वर्ष डिसेम्बरमा अमेरिकन सिंगल निकसँग विवाह गरेकी थिइन् । जोधपुरको उम्मेद भवन प्यालेसमा दुईको ड्रिम वेडिङभन्दा कम थिएन । हिन्दू र क्रिश्चियन रीति-रिवाजबाट दुईको विवाह भएको थियो ।
हालै प्रियंकाको नाम यूएसए टुडेको 'पावर आइकन' लिस्टमा सामेल भएको छ । यो लिस्टका अनुसार, उनी मनोरञ्जन क्षेत्रको ५० सबैभन्दा पावरफुल महिलामा अटेकी छन् । योभन्दा अगाडि उनको नाम 'फोर्ब्स इन्डिया-२०१८' को सबैभन्दा धनाड्य सेलिब्रेटीको लिस्टमा थियो । हालै उनी बलिउड फिल्म 'द स्काई इज पिंक' को छायांकन सकेर विदेश फर्किएकी हुन् ।

