फिल्म ‘लिलिबिली’ मा अभिनेता प्रदीप खड्काको अपोजिटमा सबैभन्दा अगाडि फाइनल भएकी अभिनेत्री थिइन् शिल्पा मास्के । तर, उनले यो फिल्म साइन गरेर पनि गरिनन् । हेमराज विसीको फिल्म ‘द ब्रेकअप’ गर्नका लागि उनले प्रदीपसँग रोमान्स गर्न नमानेको चर्चा छ । उनको ठाउँमा अभिनेत्री जसिता गुरुङ भित्रिइन् । शिल्पाले आशिरमान देशराज जोशीसँग रोमान्स गरिन् ।
तर, उनको डेब्यू भने ‘द ब्रेकअप’ नभएर ‘कागजपत्र’ भयो, जुन यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । तर, रिलिज भने ‘द ब्रेकअप’ अगाडि भयो । गएको फागुन १७ मा यो फिल्म प्रदर्शनमा आएको थियो । तर, यो फिल्मले हलमा हावा खायो । पहिलो फिल्मबाटै चम्किने उनको सपना सिसाझैं झर्यामझुरुम भएर फुट्यो । न त उनको अभिनयको नै खासै प्रशंसा भयो ।
(1).jpg)
अब उनी दोस्रोपटक भाग्य परिक्षाको पूर्वसन्ध्यामा छिन् । ‘कागजपत्र’ ले फ्लपको दाग मेटाउनेमा उनी विश्वस्त छिन् । यो फिल्म हिट भएको खण्डमा उनलाई सुरुवातमै धरमराएको फिल्म यात्रा ट्रयाकमा ल्याउन सहज हुनेछ । नभए, उनी पनि नयाँ अनुहारकै भीडमा हराउनेमा शंका छैन । तर, उनी फिल्म राम्रो बनेका कारण कुनै डर नभएको बताउँछन् ।
ट्रेलर हेर्दा उनी आफ्नै भिनाजु (भोलाराज सापकोटा) सँग नक्कली विवाह गरेर अष्ट्रेलिया जाने चक्करमा देखिन्छिन् । उनको प्रेमीको भूमिकामा अभिनेता नाजिर हुसेन छन् । आफूले फिल्ममा निभाएको चरित्र समाजभित्रकै एक प्रतिनिधि पात्र रहेको उनको भनाइ छ । ‘बेलायत रिर्टन्स’ अभिनेत्री मास्के आफूले निभाएको चरित्रले फिल्मको मूलकथा बोकेको बताउँछिन् ।
‘फिल्ममा मैले बुनुको चरित्र निभाएको छु, जसको ठूलो सपना छ । उसलाई कुनै हालतमा अष्ट्रेलिया जानुछ । यही प्रक्रियाका लागि चाहिने कागजपत्रको झमेलामा फिल्म केन्द्रित छ’, उनले पत्रकारसँगको एक भेटमा सुनाइन् । फिल्मलाई अपिल विष्टले निर्देशन गरेका हुन् । यसमा सरिता गरी, लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतको पनि अभिनय छ ।

