Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘द म्यान फ्रम काठमाडौं’: सोज धेरै, दर्शक अभाव

फिल्मीखबर, काठमाण्डौ, 2019/03/21
‘सोज धेरै पाउँदैमा फिल्म सुपरहिट हुँदैन’ भन्ने एउटा गतिलो उदाहरण बनेको छ, फिल्म ‘द म्यान फ्रम काठमाडौं’ । शुक्रवारबाट प्रदर्शनमा आएको यो फिल्मले भोली शुक्रवारबाट दोस्रो सातामा प्रदर्शन थाल्दैछ । तर, फिल्मलाई दर्शकको खडेरी लागेको छ । ५ करोडमा बनेको फिल्मले घरेलु बजारमा पहिलो हप्ता मुश्किलले ५० लाख जोड्न सक्ने बताइएको छ । 
 
यो फिल्मले मल्टिप्लेक्समा उच्च सोज पाएको थियो । तर, क्यूएफएक्स च्यानलमा मात्र । यो नेपालको सबैभन्दा ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल हो । यसका मालिक नकिम उद्यिन हुन् । फिल्म पनि उनैले निर्माण गरेका हुन् । आफ्नोे फिल्मलाई आफ्नो हलमा उनले उच्च सोज बाँडेको थिए । प्रदर्शनको पहिलो दिन फिल्मलाई २१ सोज प्रदान गरिएको थियो । तर, दर्शक नै नआएपछि सोज लगातार घटाइएको छ । 
 
दोस्रो हप्ताको पहिलो दिन फिल्मलाई जम्मा ५ सोज छुट्याइएको छ । ठूलो संख्यामा सोज घटाउनुले नै बक्सअफिसमा फिल्मको अवस्था दयनिय रहेको प्रस्ट्याउँछ । माउथ पब्लिसिटी नै फिल्म चल्नु र नचल्नुको मुख्य पूर्वाधार हो । तर, यो फिल्मको माउथ पब्लिसिटी नै कमजोर रह्यो । अन्ततः वर्ष २०७५ को फ्लप फिल्मको सूचीमा ‘द म्यान फ्रम काठमाडौं’ ले आफ्नो नाम लेखाएको छ । 
 
 
यो फिल्मलाई पहिलो नेपाली हलिउड फिल्म भनिएको छ । किनकि, यो अंग्रेजी भाषामा छायांकन भएको फिल्म हो । र, नेपाली, बलिउड र हलिउडका कलाकारहरुको अभिनय छ । पेमा धोन्डुप निर्देशित फिल्ममा बलिउड अभिनेता गुलशन ग्रोवर, अमेरिकी अभिनेता जोसे म्यानुअल, पाकिस्तानी अभिनेता हमिद शेख, नेपाली कलाकारहरु आना शर्मा, शिशिर बाङ्देल, कर्मा शाक्य, नीर शाह, आमिर गौतमलगायतको अभिनय छ । 
 
फिल्मको प्रचारका लागि भन्दै गुलशन भारतबाट प्रदर्शनको तीन दिन अगाडि नै नेपाल ओर्लिएका थिए । प्रदर्शनको दुई दिन अगाडि पाटन पुगेर सयौं दर्शकसँग साक्षात्कार गर्दै फिल्म राम्रो बनेको र एकपटक हेर्न आग्रह पनि गरे । फिल्मको भब्य प्रिमियरमा पनि उनी उपस्थित भए । तर, उनको पारिश्रमिक र ओहोर-दोहोरका लागि निर्माण टिमले गरेको खर्च पनि फिल्मले घरेलु बजारबाट उठाउन सक्नेमा कतिपयको शंका छ । 
 
नेपालमा फिल्मले टिठलाग्दो व्यापार गरे पनि अब विदेश प्रदर्शनका लागि अमेरिका र अष्ट्रिलियन वितरक कम्पनीसँग निर्माण टिमले छलफल गरिरहेको छ । नेपाली दर्शकका लागि नेपाली भाषामा डब गरिएको फिल्म विदेशमा भने अंग्रेजी भाषामा नै प्रदर्शन गरिनेछ । यो फिल्मसँगै प्रदर्शनमा आएका दुई फिल्म 'जानी नजानी' र 'पुरानो बुलेट' पनि दर्शक अभावले टाँट पल्टिएका छन् । 
Most Visited News (monthly)