प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवारबाट तेस्रो हप्तामा प्रदर्शन आरम्भ गर्न लागेको अभिनेता अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ रंगहरुको पर्व फागू पूर्णिमाको दिन श्रीमती र पितासँग साथमा बसेर हेरेका छन् । बुधबार बिग मुभिज पुगेर उनले फिल्म हेरेका हुन् । फिल्म हेरेपछि उनले अनमोलले निभाएको चरित्र इशान खड्काको तारिफ गरे ।
संवाददाताहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले भने- ‘फिल्म एकदमै राम्रो छ ।’ उनले इशान खड्का ‘बेस्ट प्लेयर’ भन्दै अनमोलको कामको पनि प्रशंसा गरे । अनमोल केसी कस्तो लाग्यो तपाईंलाई ? भन्ने पत्रकारको प्रश्नमा उनले आफूले अनमोललाई नचिनेको बताए । उनले भने- ‘मैले इशान खड्का मात्र चिनेको छु ।’

राष्ट्रिय चलचित्र नीतिको मस्यौदा अड्किएको पत्रकारको प्रश्नमा भने उनले आफू हतारमा रहेको भन्दै जवाफ दिएनन् । हलबाट बाहिरिँदै गर्दा फेरि फिल्मको तारिफ गर्दै उनले भने- ‘इशान खड्का इज बेस्ट ।’ प्रधानमन्त्रीको कुरा सुनेर छेवैमा उभिएका अनमोल भने हाँसिरहेका थिए । उनी प्रधानमन्त्रीजस्तो व्यक्तिले आफ्नो फिल्म हेर्न समय छुट्याएकोमा खुसी देखिए ।
प्रधानमन्त्री ओलीलाई धन्यवाद दिँदै उनले भने- ‘दर्शकहरुले त माया दिइरहनु भएकै थियो तर, प्रधानमन्त्रीजस्तो व्यक्तिले फिल्म हेरिदिन्छु होला भनेर मैले सोचेकै थिइनँ । म एकदमै खुसी छु ।’ उनले प्रधानमन्त्री ओलीसँग आफ्नो तेस्रो भेट रहेको पनि खुलाए । उनले ‘क्याप्टेन’ को रेस्पोन्स र व्यापारबाट खुसी रहेको पनि बताए ।
अनमोलसँगै निर्देशक दीवाकर भट्टराई, निर्माता भुवन केसी र अभिनेत्री द्वय उपासना सिंह ठकुरी र प्रियंका एमभीले पनि प्रधानमन्त्रीसँग साथमा फिल्म हेरेका थिए । प्रधानमन्त्रीसँग नेकपाका नेताहरु विष्णु पौडेल, रघुवीर महासेठ लगायतले पनि फिल्म हेरेका थिए । भुवनले प्रधानमन्त्रीसहित मन्त्रालयका सचिवहरुले फिल्म हेरिदिएकोमा धन्यवाद व्यक्त गरे ।

