Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 3.50/5.00)
Text size:-
+
-

प्रदीपको चासोः ‘कबड्डी ३’ मा म नै किन चाहिने ?

फिल्मीखबर, काठमाण्डौ, 2019/03/21
युवास्टार प्रदीप खड्कालाई आफ्नो फिल्म लिन निर्माताबीच तानातान हुने गरेको छ । युवापुस्तामा लोभलाग्दो क्रेज भएका कारण उनलाई लिएपछि फिल्मले लगानी उठाउन ठूलो संघर्ष गर्न नपर्ने मान्यता फिल्मकर्मीमा छ । अहिले उनको डिमाण्ड जति चुलिँदो छ पारिश्रमिकले पनि शिखर चुमिरहेको छ । तर, उनी आफूलाई सुहाउँदो भूमिका र टिम हेरेर मात्र फिल्म छनोट गर्ने गर्दछ । 
 
सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' ले नसोचेको सफलता दिलाएपछि उनले आफ्नो करिअर पछाडि फर्किएर हेर्नु परेको छैन । तर, पछिल्लो रिलिज फिल्म 'रोज' को असफलताले भने उनलाई नराम्रो झट्का दियो । यो फिल्मको असफलताले उनमा निर्देशक राम्रो चाहिने चेत पनि पलाएको छ । उनको पाइपलाइनमा रहेका फिल्मका निर्देशक हेर्ने हो भने पनि यो कुराको पुष्टि हुन्छ । 
 
उनी अभिनीत नयाँ फिल्म 'लभ स्टेशन' यही चैत २२ मा प्रदर्शनमा आउँदैछ । यसलाई भेट्रान निर्देशक उज्जवल घिमिरेले निर्देशन गरेका हुन् । यो फिल्मपछि उनले क्रमशः हेमराज विसी, रामबाबु गुरुङ, छेतन गुरुङसँग काम गर्दैछन् । तर, पाइपलाइनमा रहेका फिल्ममध्ये 'लभ स्टेशन' पछि उनले गर्ने प्रोजेक्टको भने अझै टुंगो लागेको छैन । यद्यपि, उनले यो फिल्मलगत्तै ‘कबड्डी ३’ गर्ने सम्भावना छ । 
 
 
यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन र निर्माण गर्दैछन् । उक्त फिल्मपछि उनैसँग प्रदीपले फिल्म ‘बेला’ पनि गर्दैछन् । तर, ‘कबड्डी ३’ साइन भने नगरिसकेको उनले बताए । 'वानलाइन स्टोरी' मनपरेको भएता पनि आफूले फाइनल स्क्रिप्ट मागेको तर अहिलेसम्म हातमा नपरेको उनको भनाइ छ । फिल्म गर्ने सम्भावना उच्च भए पनि नगर्ने सम्भावना पनि रहेको प्रदीप बताउँछन् । 
 
‘वानलाइन स्टोरी सुन्दा चाहिँ गर्न सकिन्छ’, उनले भने- ‘तर, चलेको सिरिजमा म नै किन हुनुपर्ने भन्ने मात्र मेरो चासो हो । नयाँ क्यारेक्टर पनि हुन सक्थ्यो । मभन्दा बाहेक अरु कसैलाई यो क्यारेक्टर फिट हुँदैन भन्ने भयो भने मात्र गर्छु । नभए गर्दिनँ । तर, वानलाइन स्टोरी सुन्दा चाहिँ फिट हुन्छ जस्तो लागेको छ ।’ उनले केही दिनमा फिल्म गर्ने/नगर्ने टुंगो लाग्ने बताए । 
 
तर, गोप्य स्रोतले फिल्मीखबरलाई दिएको जानकारीलाई आधार मान्ने हो भने प्रदीपले उक्त फिल्म साइन गरिसकेका छन् । उनले मौखिक सहमती भने भएको स्वीकार गरे । ‘मैले फाइनल स्क्रिप्ट मागेको छु । वानलाइन स्टोरीले झैँ फाइनल स्क्रिप्टबाट पनि चित्त बुझे रामबाबु दाईसँग काम गर्न मलाई कुनै आपत्ति छैन, किनकि चाँडै हामी अर्को फिल्ममा पनि साथमा काम गर्दैछौं’, उनले भने । 
‘कबड्डी ३’ मा प्रदीप भित्रने भएपछि यस सिरिजका भरपर्दा अभिनेता दयाहाङ राई असन्तुष्ट रहेको सिनेवृतमा चर्चा छ । आफूहरुले ब्रान्ड बनाएको सिरिजमा अहिलेको चलेका अभिनेता लिए आफूहरु ओझेलमा पर्ने भन्दै रामबाबुसँग उनले प्रदीपलाई नलिन आग्रह गरिरहेको स्रोत बताउँछ । तर, यो कुराको खण्डन गर्छन्, उनी । उनले दयाहाङसँग फिल्मलाई लिएर केही पटक कुरा भएको बताए । 
 
‘दयाहाङ दाईसँग फिल्मको विषयमा केही पटक छलफल भएको छ । मैले वानलाइन सुन्दा पनि उहाँ साथमा हुनुहुन्थ्यो । उहाँलाई फिल्ममा म हुँदैमा कुनै आपत्ति छ भन्ने मान्दिनँ’, उनी भन्छन् । उनी अहिले आफ्नो सम्पूर्ण ध्यान पाइपलाइनमा रहेका प्रोजेक्टभन्दा प्रदर्शनका लागि तम्तयार रहेको फिल्म 'लभ स्टेशन' माथि रहेको बताउँछन् । केही दिनदेखि प्रदीप यही फिल्मको प्रचारमा दौडिरहेका छन् । 
Most Visited News (monthly)