यही शुक्रवारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कागजपत्र’ को ‘स्याड भर्सन’ गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा सञ्चारकर्मीहरुसँग होलीको रंग एकआपसमा दलेर निर्माण टिमले गीत सार्वजनिक गरेको हो । ‘तिमी जाने बाटो कता’ बोलको गीतमा फिल्मका चार प्रमुख कलाकारहरु (नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरी) लाई पीडामा देख्न सकिन्छ ।
(1).jpg)
‘फूल हैन’ फेम्ड गायिका प्रविशा अधिकारी र अनुप शर्माको आवाज रहेको गीतमा संगीत सापकोटाको संगीत र शब्द रचना छ । निर्देशक अपिल विष्टले सार्वजनिक गीतलाई कथाको मर्मअनुसार फिल्ममा स्थान दिइएको बताए । यो फिल्मले नक्कली विवाह गरेर अष्ट्रेलिया जानेहरुको कथा भन्छ । यसको कथा निर्देशक विष्ट आफैंले तयार पारेका हुन् ।
इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतीमा तयार भएको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको हो । फिल्म सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक विष्ट बताउँछन् । यसअघि उनले ‘झुम्की’ फिल्म निर्देशन गरेका थिए । यसको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्मातामा छन् ।
फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत छ भने निमेष श्रेष्ठको सम्पादन रहेको छ । फिल्मलाई अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका हुन् । लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय छ । अभिनेत्री शिल्पा र नाजिरले ‘कागजपत्र’ माथि ठूलो आशा र भरोसा रहेको बताएका छन् ।
गीत हेर्नुहोस् :-

