Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीलिपसँग मिलेर फिल्म बनाउँदै शिवहरी

फिल्मीखबर, काठमाण्डौ, 2019/03/19
‘६ एकान ६’ हुँदै ‘छक्का पञ्जा’ को तीनवटै सिरिज सुपरहिट भएपछि अहिले प्रायः फिल्ममेकर कमेडीको चास्नी हालेर धमाधम फिल्म बनाइरहेका छन् । फिल्म ‘लुट’ हिट भएपछि ‘डबल मिनिङ’ लाग्ने संवाद हालेर अनगिन्ती फिल्म बने । यो क्रम अझै रोकिएको छ । ‘छक्का पञ्जा’ सिरिज हिट भएपछि जबरजस्ती रुपमै कमेडी घुसाएर फिल्म बन्ने क्रम पनि निकै बढेको छ । 
 
केही वर्ष अगाडिसम्म ‘जोकर’ भनेर हेपिने हास्यकलाकारका फिल्मले ठूला स्टारका फिल्मभन्दा पनि ठूलो व्यापार गर्न थालेपछि केही समययता एकपछि अर्को गर्दै हास्यकलाकारहरु फिल्म निर्माणमा होमिन थालेका छन् । दशकपछि हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ 'शत्रु गते' बाट पुनः फिल्म निर्माणमा लागे । सिताराम कट्टेल र कुञ्जना घिमिरे पनि फिल्म बनाउने तयारीमा छन् । 
 
चर्चित हास्यटेलिसियल 'भद्रगोल' को टिम पनि कमेडी फिल्म बनाउँदैछ । यसबीच, दीपकराज गिरी-दीपाश्री निरौला र महजोडीले निर्माण गरेका हरेक फिल्ममा सहकार्य गर्दै आएका चर्चित हास्यकलाकार शिवहरी पौडेल पनि अब फिल्म निर्माणमा औपचारिक रुपमा होमिने भएका छन् । निर्माण मात्र नभएर उनले फिल्म निर्देशनको चुनौतीपूर्ण जिम्मेवारी पनि उठाउने भएका छन् । 
 
 
लामो समय हाँस्य टेलिश्रृङ्खला ‘जिरे खुर्सानी’ मा निर्देशन र अभिनय गरेका उनले हास्यकलाकार किरण केसी र अभिनेता दीलिप रायमाझीसँग मिलेर फिल्म बनाउन लागेका हुन् । आउँदो दशैं वा तिहारमा प्रदर्शनमा ल्याउने गरि चाँडै फिल्मको छायांकन सुरु गर्ने उनले हालै एक अन्तर्वार्तामा खुलाए । हाल फिल्मको स्क्रिप्टमाथि काम भइरहेको उनले बताए । 
 
अहिले नेपाली फिल्मको डरलाग्दो माहोल भएका कारण तत्काल फ्लोरमा जाने आँट जुटाउन नसकेको उनी बताउँछन् । उनले भने- 'लगातार फिल्महरु असफल भइरहेका छन् । प्रायः फिल्मले दर्शक नै हलसम्म तान्न सकेका छैनन् । त्यही माहोलमा हामी पनि पर्ने त होइन भनेर अलिकति पछाडि हटेका छौं । आउँदो दशैं वा तिहारभित्र फिल्म ल्याउने सोच छ ।' 
 
उनले फिल्ममा अनुभवी र नयाँ कलाकारहरुको अभिनय रहने बताए । उनका अनुसार, फिल्मका लागि प्रमुख कलाकारहरु फाइनल भइसकेका छैनन् । उनले फिल्म पूर्णतया कमेडी कथामा नबन्ने पनि स्पष्ट पारे । 'अहिले हास्य फिल्म धेरै बनिसकेका छन् । हामी रियालिटी बेसमा फिल्म बनाउने छौं । कमेडी हुन्छ तर कथाको मागअनुसार मात्र राखिनेछ । बनावटी हुँदैन', शिवहरीले भने । 
 
उनले आफ्नो फिल्मको 'कन्टेन्ट' भने बलियो हुने दाबी गरे । फिल्मको नाम भने जुराइएको छैन । 'झण्डै डेढ सयभन्दा बढी नाम ठिक पारेर राखेका छौं । छान्न बाँकी छ । एकपटक चार/पाँचजना अग्रज व्यक्तिहरुलाई फिल्मको कथा सुनाएर कुन नाम सही हुन्छ भनेर छलफल गर्नेछौं', उनले भने । उनले डेब्यू निर्देशित फिल्म सफल भए यसलाई निरन्तरता दिने पनि बताए ।
 
तस्बिरः नविन चापागाईं 
Most Visited News (monthly)