युट्युब भ्यूजको आधारमा आजकाल नेपाली फिल्मको सफलता र असफलता रिलिजपूर्व नै मापन गर्ने गरिन्छ । रिलिजको छोटो समयमै फिल्मको प्रचार सामाग्री (गीत र ट्रेलर) ले युट्युबमा लाखौं भ्यूअर्स कमाए फिल्म 'स्योर सट' हिट हुने बताइन्छ । २/३ लाखमै खड्किए फिल्मले हलमा पनि कमाल नगर्ने अड्कल काटिन्छ । यसैले पनि आजभोली गीत र ट्रेलर राम्रो बनाउन फिल्ममेकरले बढी ध्यान दिने गरेको पाइन्छ ।
अहिले धेरै निर्माता/निर्देशकमा गीत राम्रो बनाए फिल्मको इनिसियल बक्सअफिस आक्रामक हुने मान्यता स्थापित भएको छ । केही फिल्ममा यो देखिएको पनि छ । युट्युबमा राम्रो रुचाएका गीतकै कारण केही फिल्मको सुरुवाती बक्सअफिस रिपोर्ट रामो आएको छ । तर, केही गीतले युट्युबमा करोड भ्यूज पाए पनि फिल्म हेर्न दर्शक हल नपुगेका उदाहरणहरु पनि प्रसस्त छन् । उदाहरणको रुपमा फिल्म 'रोज' को 'फूल हैन' गीतलाई लिन सकिन्छ ।
(1).jpg)
युवा स्टार अनमोल केसीको फिल्ममा गीत जबर्दस्त हुने गर्दछ । गीतका कारण पनि उनका फिल्मको इनिसियल कलेक्सन राम्रो हुने गरेको फिल्म पण्डितहरु बताउँछन् । फागुन १७ मा आएको 'क्याप्टेन' को इनिसियल बक्सअफिस राम्रो हुनुमा 'रहर छ सँगै' र 'कर्ली कर्ली कपाल' गीतको ठूलो भूमिका छ । अब उनको नयाँ फिल्म 'ए मेरो हजुर ३' ले पनि गीतको फाइदा राम्रो उठाउने छनक देखाएको छ ।
शुक्रवार दिउँसो यस फिल्मको युट्युब रिलिज भएको 'जिन्दगी नै भन्दिनँ' बोलको गीत आइतबार दिउँसो नेपालको युट्युब ट्रेन्डिङको शिर्ष स्थानमा आइपुगेको छ । यो समाचार तयार पार्दासम्म गीतमाथि १२ लाख बढीको नजर परिसकेको छ भने साढे ६ हजार बढीको कमेन्ट प्राप्त छ । गीतमा नकारात्मक कमेन्ट अत्यन्त कम छन् । अधिकांशले गीतको अडियो/भिडियोलाई उत्कृष्ट भनेका छन् ।
गीतको भिडियोमा फिचर्ड अनमोल र डेब्यू गर्ल सुहाना थापाको केमेस्ट्रीलाई पनि उतिक्कै रुचाइएको छ । विशेषगरि अनमोलको लुक्सको तारिफमा धेरै कमेन्ट कोरिएका छन् भने सुहानालाई 'क्यूट' र 'बेबी डल' लेखिएका कमेन्ट पनि कम छैनन् । कतिपयले भने उनको हाइट कम भएको प्रतिक्रिया दिएका छन् । उनी यस फिल्मकी निर्देशक झरना थापाकी 'गुडियारानी' उर्फ छोरी हुन् । यही फिल्मबाट सुहानाले डेब्यू गरेकी हुन् ।
पहिलो गीतले नै फिल्मको लोभलाग्दो हाइप निर्माण गर्न सफल भएकोमा निर्माण टिम यतिबेला दंग छ । सुगम पोखरेल र प्रविशा अधिकारीको स्वर रहेको गीतमा एक नारायण भण्डारीको शब्द छ । आशिष अविरलले गीतमा संगीत भरेका छन् । चैत २९ मा यो फिल्म रिलिज हुँदैछ । यसमा अनमोल र सुहानासँगै सलोन बस्नते, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ ।
गीत हेर्नुहोस् :-

