
केही वर्षयता हरेक हप्ताको शुक्रवार रिलिज हुने हरेक एक फिल्मबाट प्रायः नयाँ अनुहारको उदय भइरहेको छ । कतिले डेब्यू फिल्मबाट सशक्त र स्वभाविक अभिनयले राम्रो सम्भावना देखाएका छन् भने कतिले दर्शकमा राम्रो छाप छाड्न सकेका छैनन् । डेब्यू फिल्मबाट राम्रो सम्भावना देखाउने अभिनेत्रीको भीडमा निरिषा बस्नेतले पनि आफूलाई उभ्याएकी छन् ।
शुक्रवारबाट उनी अभिनीत फिल्म ‘जानी नजानी’ प्रदर्शनमा आएको छ । यसअघि उनले चर्चित हिन्दी सिरियल ‘चन्द्र नन्दिनी’ मा लिड रोलमा अभिनय गरेकी थिइन् । निरिषाले ‘जानी नजानी’ मा सम्झनलायक काम गरेकी छन् । उनको अभिनय स्वभाविक लाग्छ । उनको अभिनयले दुई/चारवटा फिल्म गरिसकेकी अभिनेत्रीको भान गराउँछ । यो फिल्मलाई उनको दमदार डेब्यू मान्न सकिन्छ ।
.jpg)
फिल्म हेरेर निस्किँदै गर्दा पनि उनी आँखाबाट हट्दिनन् । तपाईंहरुले यो फिल्म हेर्ने एउटा कारण, नव-अभिनेत्री निरिषा पनि हुन सक्छिन् । उनको भूमिका र अभिनय दुबैले दर्शकलाई बाँध्न सफल छ । नेपाली फिल्ममा आफ्नो भविष्य सुरक्षित गर्न अझै मिहिनेत गरेको खण्डमा उनलाई नेपाली फिल्म क्षेत्रले सम्भावना बोकेको नायिकाको रुपमा हेर्न सक्नेछ ।
यो फिल्म मध्यान्तरअघि अत्यन्त सुस्त छ । कतिपय दृश्यमा निर्देशकले कैँची चलाउन आवश्यक ठानेका छैनन् । दोस्रो हाफपछि भने फिल्मले आफ्नो गति समातेको छ । अर्थात्, दोस्रो हाफपछि दर्शकलाई फिल्मले राम्रोसँग बाँध्छ । लिड अभिनेता मनिष श्रेष्ठको अभिनय कामचलाउ छ । नेपाली फिल्ममा लामो रेसको घोडा बन्न उनले अभिनयमा सुधार गर्न अत्यन्त आवश्यक देखिन्छ ।
फिल्ममा सहायक भूमिकामा रहेकी नम्रता श्रेष्ठको अभिनय भने स्वभाविक छ । अर्का अभिनेता सन्नी सिंह आफ्नो भूमिकामा फिट छन् । यसअघि दर्जनौं फिल्ममा सहायक निर्देशक भएर काम गरेका निर्देशक बसन्त अधिकारीले पनि निर्देशनमा राम्रो सम्भावना देखाएका छन् । उनको मिहिनेत तारिफयोग्य छ । उनीबाट अर्कोपल्ट दमदार फिल्मको अपेक्षा राख्न सकिन्छ ।
.jpg)
शुक्रवारबाट प्रदर्शनमा आएको यो फिल्मले दर्शक भने खासै पाउन सकेको छैन । तर, फिल्म हेरेका दर्शकले भने राम्रो बोलेका छन् । यो फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ । आधुनिक प्रेमकथामा आधारित फिल्ममा छायांकन संजय लामाको रहेको छ । रोशनी केसी प्रस्तुतकर्ता रहेको फिल्मको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् ।

