हलिउड/बलिउडका ठूलो फिल्म रिलिज हुँदा नेपाली फिल्मको होसहवास उड्छ । नेपालमा कुनै यस्ता निर्माता छैनन्, जो विदेशी फिल्मसँग जुधाउने आँट राख्न सकुन । चेपुवामा पर्ने डरले नेपाली निर्माताहरु विदेशी फिल्मसँग जुधाउनुभन्दा रिलिज नै नगर्नु र प्रदर्शन मिति सार्नु नै निको सम्झन्छन् । स्वदेशी दर्शकको पहिलो रोजाई नेपालीभन्दा विदेशी फिल्म नै हुने गरेकाले पनि यो अवस्था सृजना भएको हो ।
शुक्रवारमात्र हलिउड फिल्म ‘एभेन्जरः इन्ड गेम’ का कारण मल्टिस्टारर फिल्म ‘दाल भात तरकारी’ ले रिलिज डेट सार्नु पर्यो । ‘एभेन्जर’ ले मल्टिप्लेक्सहरु पूरै कब्जा गर्ने डरले बैशाख १३ बाट यो फिल्म एक हप्ता पछाडि सरेर बैशाख २० मा पुगेको छ । यो फिल्मले रिलिज सारेलगत्तै अर्को एक प्रतिक्षीत नेपाली फिल्म ‘जात्रै जात्रा’ पनि एक बलिउड फिल्मका कारण एक हप्ता पछाडि सर्ने भएको छ ।

फागुन १७ बाट बैशाख २७ मा पुगेको यो फिल्म अब जेठ ३ मा रिलिज हुने भएको छ । सो फिल्म घोषित मितिमा प्रदर्शनमा आउन सक्नुको कारण बलिउडको प्रतिक्षीत फिल्म 'स्टुडेन्ट अफ दि इयर २' हो, जुन बैशाख २७ मा रिलिज हुँदैछ । यो फिल्मको चेपमा पर्ने डरले ‘जात्रै जात्रा’ एक हप्ता पछाडि सर्न लागेको हो । तर, यसको औपचारिक जानकारी भने निर्माण टिमले दिएको छैन । ‘जात्रै जात्रा’ एक हप्ता पछाडि सरे पनि सोलो रिलिज भने पाउने छैन ।
जेठ ३ मा यसअघि नै मिलन चाम्स निर्देशित फिल्म ‘वीरविक्रम २’ आउने तय भइसकेको छ । सो डेटबाट यो फिल्म हलचल हुने छाँटकाट देखिएको छैन । अहिले दुई फिल्मका निर्माताबीच रिलिजलाई लिएर छलफल भइरहेको छ । तर, ‘वीरविक्रम २’ निर्माता तथा निर्देशक मिलन चाम्स जेठ ३ बाट नहट्ने अडान लिएर बसेका छन् भने ‘जात्रै जात्रा’ निर्माता पनि जेठ ३ भन्दा टाढा जान नसक्ने अडानमा छन् ।
आइतबार फिल्म ‘जात्रै जात्रा’ को ‘माया पिरिम’ बोलको पहिलो गीत सार्वजनिक हुँदैछ । गीतसँगै निर्माण टिमले नयाँ प्रदर्शन मिति घोषणा गर्दैछ । गोप्य स्रोतले दिएको जानकारी अनुसार, शनिबार साँझ ‘जात्रै जात्रा’ निर्माता र ‘वीरविक्रम २’ निर्माताबीच अन्तिम वार्ता हुँदैछ । रिलिज डेटमा सहमती नजुटे दुई फिल्म बक्सअफिसमा आमने-सामने हुने निश्चित छ । दुबै हिट फिल्मको सिक्वेल भएका कारण दर्शकमा दुबै फिल्मको व्यग्र प्रतिक्षा छ ।

