.jpg)
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ पछि अभिनेता आमिर खानको नयाँ फिल्म कुन हुनेछ ? भन्ने तमाम अनुमान र अड्कललाई पूर्णविराम लगाउँदै आफ्नो नयाँ फिल्मको घोषणा गर्दै आमिरले आफ्नो ५४औँ जन्मदिन मनाएका छन् । श्रीमती किरण रावसँग मिडियाको सामुन्ने ‘बर्थडे’ केक काट्दै आमिरले आफ्नो नयाँ फिल्मको औपचारिक निर्माण घोषणा गरे ।
उनको नयाँ फिल्म चर्चित हलिउड फिल्म 'फरेस्ट गम्प' को रिमेक हुनेछ र यसको हिन्दीमा 'लाल सिंह चड्ढा' नाम राखिएको छ । आमिरका अनुसार, १९९४ मा रिलिज भएको र ६ अस्कार अवार्ड जितेको 'फरेस्ट गम्प' उनको सबैभन्दा मनपर्ने फिल्ममध्येको एक हो । वायकम १८ मोशन पिक्चर्ससँग मिलेर उनले यो फिल्म बनाउन लागेका हुन् । निर्देशन अद्वैत चन्दनले गर्नेछन् ।
अद्वैतले यसअघि आमिरको फिल्म 'सिक्रेट सुपरस्टार' निर्देशन गरेका थिए, जुन उनको डेब्यू फिल्म थियो । २०१७ मा रिलिज भएको फिल्ममा आमिर विशेष रोलमा थिए । फिल्म निर्देशन गर्नुभन्दा पहिला अद्वैत, आमिर खानको म्यानेजर थिए । डेब्यू फिल्म नै बक्सअफिसमा उत्कृष्ट ठहरिएपछि उनलाई बलिउडमा राम्रो सम्भावना बोकेको निर्देशकको रुपमा हेरिएको छ ।
आमिरले 'लाल सिंह चड्ढा' को छायांकन र टम ह्याङक्सले निभाएको चरित्रलाई आफ्नो अन्दाजमा निभाउनका लागि तयारी सुरु गरिसकेका छन् । लाल सिंह चड्ढाको रोल निभाउनका लागि उनले २० केजी तौल घटाउनु पर्नेछ । फिल्मको अक्टोबरबाट छायांकन सुरु हुँदैछ । आमिरले 'फरेस्ट गम्प' को राइट्स पाउन आठ वर्ष लागेको बताएका छन् ।

