'होस्टेल', 'जेरी' र 'गाजलु' मा काम गरेपछि अभिनेता अनमोल केसीले लोभलाग्दो सफलता चुमे । यी तीनै फिल्मका निर्देशक थिए हेमराज विसी । अनमोललाई एक्सन-कट गरेका तीन फिल्मले उनलाई लभस्टोरी फिल्म बनाउन खप्पिस मानिने निर्देशकको रुपमा चिनायो । यसपछि त उनीसँग काम गर्न चाहनेहरुको भीड सानो भएन । उनको फिल्ममा काम गरेपछि 'भाग्य बल्छ' भन्ने मान्यता नै स्थापित भएको थियो ।
हेमराजले चौंथो फिल्म 'ग्याङस्टार ब्लूज' पनि अनमोललाई नै लिएर बनाउने सोच बनाए । चौंथो पटक पनि उनीहरुबीच सहकार्य हुने फाइनल भयो । अनमोल फिल्मका लागि भन्दै ज्यान बनाउन र कपाल बढाउन लागे । तर, फ्लोरमा जानुभन्दा केही समय अगाडि उनले रोल चित्त नबुझेको भन्दै हात झिके, जुन कुरा हेमराजलाई सैह्य भएन । र, उनले नयाँ अनुहार लञ्च गर्ने निर्णय लिए ।
.jpg)
अग्लो कद र चकलेटी लुक्सका आशिरमान देशराज जोशीमाथि हेमराजको नजर पर्यो । यसअघि पनि उनले फिल्म 'जेरी' का लागि आशिरलाई सेकेण्ड लिड रोलमा अफर गरेका थिए । तर, उनले गर्न मानेका थिएनन् । अन्ततः 'ग्याङस्टार ब्लूज' मा हेमराजले आशिरलाई लिड रोलमा ब्रेक दिए । फिल्म रिलिज अगावै उनी अनमोललाई थ्रेट हुनसक्ने चर्चा सिनेवृतमा सुरु हुन थालिसकेको थियो ।
तर, फिल्मले हलमा हावा खायो । न त आशिरको कामको नै तारिफ भयो । पहिलो गाँसमै ढुंगा लाग्दा उनलाई लिएर फिल्म बनाउने सोच बनाएका मेकर्सहरु पनि चुनौती मोल्न तयार भएनन् । हुनत, उनले डेब्यू फिल्म रिलिज नहुँदै हेमराजको नयाँ फिल्म 'द ब्रेकअप' साइन गरिसकेका थिए । 'ग्याङस्टार ब्लूज' मा काम हेरेपछि उनलाई १५ लाख पारिश्रमिक दिएको भन्दै निर्माताले ठूलो हल्लाखल्ला पनि गरे ।
तर, दुर्भाग्य ! हेमराजसँगको दोस्रो सहकार्य पनि आशिरका लागि फलदायक हुन सकेन । गएको फागुन १७ गते रिलिज भएको यो फिल्म वर्ष २०७५ को ठूलो डिजास्टर साबित भयो । अनमोलको 'क्याप्टेन' सँग रिलिज भएको यो फिल्मले निर्माताको लगानी त टाढाको कुरा भित्तामा टाँस्नका लागि बनाइएको पोस्टरको पैसा समेत उठाउन सकेन । दुई फिल्मको असफलताले आशिरलाई पनि नराम्रोसँग हल्लाएको छ ।
अहिले उनलाई सिनेवृतमा ‘अनलक्की हिरो’ भनिन थालिएको छ । डेब्यू फिल्म रिलिज नहुँदै दोस्रो फिल्मका लागि १५ लाख पारिश्रमिक बुझेका उनले अब तेस्रो फिल्ममा कति मोटो रकम हात पर्लान् ? धेरैका लागि चासोको विषय बनेको छ । युवापुस्तामा राम्रो क्रेज भएका कारण उनको हातमा फिल्म नटुट्न सक्छ तर पारिश्रमिक साविककै पाउनेमा भने शंकै छ । कतै डेढ/दुई लाखमा त झर्ने होइन ?

