Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

कस्तो चल्ला ‘द म्यान फ्रम काठमाडौं’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/03/13
केही समययता फिल्म निर्माण र रिलिजको संख्या निकै बढ्दो छ । तर, व्यापार भने दिनानुदिन खस्किँदो छ । यस वर्षको बैशाखदेखि फागुन अन्तिम सातासम्म निहाल्ने हो भने सुपरहिट फिल्मको नाम सम्झिन घोत्लिनै पर्छ । वर्षको पहिलो हिट फिल्म 'नाइँ नभन्नू ल ५', 'छक्का पञ्जा ३' र 'जय भोले' बाहेक अन्य कुनै फिल्मले राम्रो कमाई गर्न सकेनन् । 'रामकहानी', 'इन्टु मिन्टु लण्डनमा', 'चंगा चेट' र 'प्रसाद' ले जेनतेन लगानी उठाए । 
 
६० बढी फिल्म रिलिज भइसकेको अवस्थामा फागुन अन्तिम सातासम्म तीन फिल्मबाहेक कसैले जबर्दस्त कमाई गर्न सकेनन् । हरेक हप्ता दुईभन्दा बढी फिल्म रिलिज हुँदै आएका छन् भने निर्माताको हरेक हप्ता करोडौंको लगानी बालुवामा पानी खन्याएझैं भइरहेको छ । नामै नसुनेका फिल्मले त टाढाको कुरा स्टार कलाकारले अभिनय गरेका र ठूलो हल्लाखल्ला गरिएका फिल्मले पनि राम्रो व्यापार गर्न सकेका छैनन् । 
 
गत हप्ता दर्शकले सर्वाधिक रुचाएका अभिनेता अनमोल केसी अभिनीत फिल्म 'क्याप्टेन' रिलिज भयो । यो फिल्मले खडेरी लागेको नेपाली फिल्मको व्यापार केही हदसम्म चलायनमान बनाउने फिल्मकर्मीहरुको ठूलो विश्वास थियो । तर, यो फिल्म पनि बक्सअफिस खासै प्रभावशाली देखिए । विदाको दिन राम्रो व्यापार गरे पनि अन्य दिन सुस्तायो । तर, फिल्मले ५ करोडमाथि कमाइ गरिसकेको वितरकको दाबी छ । 
 
अनमोलको फिल्मले बक्सअफिसमा अपेक्षाकृत व्यापार गर्न नसकेको चर्चा हुँदै गर्दा यतिबेला रिलिजको तरखरमा रहेका थुप्रै फिल्मका निर्माताहरुको होसहवास उड्न थालेका छ । कतै करोडौंको लगानी डुब्ने त होइन ? भन्ने डरले धेरैको भोकनिन्द्रा गायब भएको छ । लगातार फिल्म डुब्न थालेपछि अहिले सिनेवृतमा दर्शक हराएको चर्चा हुन थालेको छ । किन हलमा दर्शक आइरहेका छैनन् ? सबै हैरान छन् । 
 
 
यसबीच, शुक्रवारबाट तीन फिल्म 'जानी नजानी', 'पुरानो बुलेट' र ‘द म्यान फ्रम काठमाडौं’ प्रदर्शनमा आउँदैछन् । यी तीन फिल्ममध्ये ‘द म्यान फ्रम काठमाडौं’ बजेटको हिसाबले ठूलो फिल्म हो । ५ करोडमाथिको लगानीमा बनेको यसमा नेपालीदेखि बलिउडसम्मका नामी कलाकारहरुको अभिनय छ । नेपाली र अंग्रेजी भाषामा निर्माण भएको यो फिल्म खासगरि अन्तर्राष्ट्रिय बजारका लागि बनाइएको हो । 
 
नेपालकै ठूलो र स्तरीय मल्टिप्लेक्स च्यानल क्यूएफएक्स सिनेमाजले ‘द म्यान फ्रम काठमाडौं’ लाई प्रदान गरेको सोज संख्या हेर्ने हो भने यसले बक्सअफिसमा ठूलै आँधी-तुफान ल्याउने देखाउँछ । राजधानीका पाँचवटा मेजर स्टेशनमा फिल्मलाई २० सोज दिइएको छ । क्यूएफएक्सले दर्शकमाझ प्रतिक्षीत नेपाली, हलिउड र बलिउड फिल्मलाई मात्र यो संख्यामा सोज बाँड्ने गरेको रेकर्ड छ । 
 
तर, ‘द म्यान फ्रम काठमाडौं’ शुक्रवारबाट रिलिज हुँदैछ भन्ने सायद अत्यन्त कम दर्शकलाई थाहा छ । किनकि, फिल्मको प्रचार अत्यन्त कमजोर छ । राम्रो जानकारी हुनेहरुलाई पनि फिल्मप्रति खासै चासो भएको देखिन्न । तर, किन क्यूएफएक्सले उच्च सोज दियो त ? बताइदिउँ कि, यो फिल्म क्यूएफएक्सका मालिक नकिम उद्यिमले बनाएका हुन् । आफ्नो हलमा आफ्नो राज त चल्ने नै भयो !
 
तर, सोज बढी पाउँदैमा दर्शक ओहिरिने भन्ने पक्कै होइन । दर्शक नै हलमा आइदिएनन् भने उच्च सोज दिनुको कुनै अर्थ रहन्न । हुनत, सबै निर्मातालाई आफ्नो फिल्मले रेकर्ड ब्रेक कमाई गर्ने विश्वास हुन्छ । निर्माता नकिमलाई पनि आफ्नो फिल्मलाई दर्शकको कमी नहुने विश्वासले आफ्नै हलमा उच्च सोज दिएका हुनसक्छन् । तर, नतिजा उनले सोचेझैं आउँछ भन्ने कुनै ग्यारेन्टी छैन । 
 
क्यूएफएक्सले आफ्नो फिल्मलाई २० सोज बाँड्दा शुक्रवार एकसाथ प्रदर्शनमा आउन तयार रहेका अन्य दुई फिल्म 'पुरानो बुलेट' लाई ५ र 'जानी नजानी' लाई २ सोज बाँडेको छ । आफ्नो फिल्मलाई उच्च सोज तर अन्य फिल्मलाई निकै न्यून सोज ? यो भने हल मालिक नै जान्दछन् । तर, सर्वाधिक शेयर आउने हुँदा अधिकांश निर्माताहरु क्यूएफएक्समा आफ्नो फिल्म रिलिज गर्न लोभिन्छन् । 
Most Visited News (monthly)