पछिल्लो समय नेपाली फिल्ममा नयाँ अनुहारहरुको प्रवेश 'दिन दुई गुना रात चौगुना' बढेको बढ्यै छ । अचेल निर्माण हुने प्रायः हरेक एक फिल्मबाट नयाँ कलाकारहरुको जन्म भइरहेको छ । कतिले डेब्यू फिल्मबाट राम्रो सम्भावना देखाएका छन् त कतिलाई पहिलो गाँसमै ढुंगा लागेको छ । अभिनेत्रीहरुको कुरा गर्ने हो भने जसिता गुरुङ, सारा शिरपाली, दीपिका प्रसाइँलगायतले डेब्यू फिल्मबाटै राम्रो सम्भावना देखाए ।
अब यो भीडमा अर्की अभिनेत्री थपिएकी छन्, उपासना सिंह ठकुरी । उनी अभिनीत पहिलो फिल्म 'क्याप्टेन' अहिले हलमा प्रदर्शन भइरहेको छ । फिल्ममा उनी अहिलेका 'हटकेक' अनमोल केसीको अपोजिटमा छिन् । अनमोलको बाल्यकालदेखिको साथीको भूमिकामा उनी छिन् । उनको अभिनय 'उम्दा' भन्न नमिले पनि राम्रो भने अवश्य छ । उनको चरित्र र अभिनयले आँखा विझाउँदैन । उनी पर्दामा आउँदा दर्शकले मोवाइल खेलाउँदैनन् ।
(1).jpg)
अत्यन्त कम तर मिठो मुस्कानका साथ बोल्ने उपासनाको अभिनय र डाइलग डेलिभरी राम्रो छ । सुन्दरताले मन्त्रमुग्ध बनाउँछ । अभिनयमा अझै परिपक्वता देखाएको खण्डमा उनलाई अहिलेकी 'हटकेक' साम्राज्ञी आरएल शाहको विकल्पको रुपमा लिन सकिन्छ । अनमोलसँग उनको केमेस्ट्री पनि कमालको देखिएको छ । 'रहर छ सँगै' बोलको गीतबाटै दर्शक र फिल्ममेकर्सको आँखामा परेकी उनी अब राम्रा ब्यानरको नजरमा पर्नेमा शंका छैन ।
दर्शकले त फिल्म ‘क्याप्टेन’ मा अनमोलमाथि नै उपासना हाबी रहेको प्रतिक्रिया दिइरहेका छन् । स्वभाविक अभिनयका कारण उनले नेपाली फिल्ममा आफूलाई 'स्टार' को रुपमा उभ्याउने सम्भावना देखिएकी छन् । तर, डेब्यू फिल्मले नै उनको भविष्य निर्धारण गर्न भने सकिन्न । भोलीका दिनमा छनोट गर्ने फिल्मले नै उनको फिल्म करिअरले कुन मोड लिने भन्ने तय गर्नेछ । यद्यपि, अब उनीबाट फिल्म क्षेत्रले भने ठूलो आशा बोकेको छ।
डेब्यू फिल्म हलबाट नउत्रिँदै उनलाई लिन अहिले निर्माताहरुबीच तानातान सुरु भइसकेको छ । यसबीच, उनले दोस्रो फिल्मको रुपमा रामबाबु गुरुङको फिल्म 'कबड्डी ३' गर्ने सम्भावना प्रवल छ । निर्माण टिम र उनीबीच मौखिक सहमती भए पनि कागजी सम्झौता भने केही दिनमा हुनेछ । दोस्रो फिल्मको रुपमा चर्चित सिरिजमा आबद्ध हुनु पाउनुलाई कतिपयले उनको भाग्य बालेको भन्न थालेका छन् ।

