चैत १५ गतेबाट देशैभर प्रदर्शनका लागि तयार रहेको फिल्म ‘शुभ लभ’ को 'स्याड सङ' युट्युब रिलिज भएको छ । ‘टुक्रियो एउटा सपना’ बोलको गीतमा विशाल निरौलाको शब्द, संगीत र स्वर छ । गीतको भिडियोमा ज्योतिषबाट हिरो भएका हरिहर अधिकारीलाई नव-अभिनेत्री क्रिस्टिन पौडेलको यादमा तड्पिएको देख्न सकिन्छ ।

‘तिमी हुन्छौ भने मेरो शुभ लभ’ गीतका कारण चर्चामा रहेको यो फिल्मलाई सन्तोषबाबु लोहनीले निर्देशन गरेका हुन् । उनको यो डेब्यू निर्देशित फिल्म हो । रियल लाइफझैं हरिहर यस फिल्ममा पनि ज्योतिषकै भूमिकामा छन् । तर, आफ्नो रियल लाइफमा आधारित भएर फिल्म नबनेको उनी बताउँछन् । यसको कथा भने उनी आफैंले लेखेका हुन् ।
बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता प्रदीप कुमार उदय हुन् । फिल्ममा धर्मराज शर्मा सुवेदीको लगानी रहेको छ । उक्त फिल्ममा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोललगायतका कलाकारको पनि अभिनय छ । निर्माता उदय फिल्ममा अतिथी कलाकारको रुपमा देखिनेछन् ।
यसमा अभिमन्यु निरवीको पटकथा तथा संवाद छ । फिल्ममा रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ । निर्देशक लोहनीले कथामा फिट हुने भएरै हरिहरलाई लिड रोलमा लिएको बताउँछन् । ज्योतिषकै भूमिकामा भएका कारण फिल्ममा उनीभन्दा बाहेक अरु फिट नै नहुने उनको भनाई छ ।
गीत हेर्नुहोस् :-

