नेपाली फिल्म क्षेत्रमा एक फिल्म हिट भएलगत्तै अभिनेता वा अभिनेत्रीलाई ‘स्टार’ भन्न थालिन्छ । तीन वा चार फिल्म हिट हुनसाथ ट्यागमा पनि बढुवा हुन्छ । अर्थात्, ‘सुपरस्टार’ भन्न थालिन्छ । अचेल नयाँ वा पुराना कलाकारलाई ट्याग दिन सबैभन्दा बढी हतार र उदार मिडिया हुने गरेको छ ।
फिल्ममेकर्स पनि आफ्नो फिल्ममा अभिनय गर्ने चलेका कलाकार भए नामको अगाडि गजबकै ट्याग झुण्ड्याउन हिचकिचाउँदैनन् । उदाहरणको रुपमा ‘ए मेरो हजुर ३’ को टिजरमा अभिनेता अनमोल केसीलाई ‘मेगास्टार’ र फिल्म 'आप्पा' को गीतमा अभिनेता दयाहाङ राईलाई ‘सुपरस्टार’ लेखिएकोलाई लिन सकिन्छ ।
अभिनेता राजेश हमाललाई ‘महानायक’ भनिएकोप्रति अझै फिल्मकर्मीहरु विभाजित भइरहेको अवस्थामा भर्खर आधा दर्जन फिल्म गरेका अनमोललाई ‘मेगास्टार’ को उपाधि दिइनु र भनिनु पाच्य हुने कुरै भएन । यद्यपि, नेपालमा आजसम्म कुनै अभिनेता वा अभिनेत्रीलाई ‘मेगास्टार’ भनेर सम्बोधन गरिएको थिएन ।
सञ्चारकर्मी नरेश भट्टराईले अनमोललाई यो उपाधिले सम्बोधन गरेपछि यसले अहिले विवादको रुप नै दिएको छ । अनमोलका ‘डाइहार्ट फ्यान’ बाहेक उनलाई ‘मेगास्टार’ भनिएकोप्रति अधिकांशको असन्तुष्टि छ । अनमोललाई ‘मेगास्टार’ भनिनु सही हो वा गलत ? भन्ने विषयले बहसको रुप धारण गरिरहँदा उपराष्ट्रपति नन्दबहादुर पुनले भने उनलाई ‘सुपरस्टार’ को ट्याग दिएका छन् ।

सोमवार ‘क्याप्टेन’ हेरेपछि उनले अनमोललाई ‘सुपरस्टार’ भन्दै प्रगतिको शुभकामना दिए । दर्शकले ‘मेगास्टार’ भन्न थालेता पनि उपराष्ट्रपति पुनले ‘सुपरस्टार’ भनेर सम्बोधन गर्नु अनमोलका लागि ठूलो ‘अचिभमेन्ट’ हो । भलै, आफ्ना प्रशंसकबाट ‘मेगास्टार’ सुन्ने बानी परेका उनलाई ‘सुपरस्टार’ भनिनु ठूलो नलाग्ला ।
उपराष्ट्रपति पुनले अनमोललाई मात्र ‘सुपरस्टार’ भनेनन्, उनका पिता तथा अभिनेता भुवन केसीलाई ‘महानायक’ नै भन्न भ्याए । खासगरि भुवनलाई नेपाली फिल्म क्षेत्रमा ‘सदाबहार अभिनेता’ भन्ने गरिन्छ । ‘महानायक’ अभिनेता हमाललाई भनिन्छ । ‘महानायक’ त राजेश हमाललाई भनिन्छ नी ? भन्ने पत्रकारको प्रश्नमा उपराष्ट्रपति पुनले राजेश, भुवन र शिव श्रेष्ठलाई आफू ‘महानायक’ मान्ने बताए ।
उनले अगाडि भने- ‘म उहाँहरु तीनै जनालाई फरक देख्दिनँ । उहाँहरु तीनै जना ‘महानायक’ हो ।’ उनले आफूले तीनै अभिनेताको थुप्रै फिल्म हेरेको पनि सम्झिए । ‘क्याप्टेन’ हेरेपछि पत्रकारसँग कुराकानी गर्दै उनले राजेश हमाल, भुवन केसी र शिव श्रेष्ठका धेरै फिल्म हेरेको र सबै मन परेको बताए ।
उनले थपे- ‘उहाँहरु तीनै जना नेपाली फिल्म क्षेत्रका महत्त्वपूर्ण व्यक्ति हुनुहुन्छ । कसैलाई सानो ठूलो भन्दा पनि मेरो दृष्टिमा उहाँहरु तीनै जना ‘महानायक’ हुनुहुन्छ ।’ तीन अभिनेताको धेरैपटक भागेर फिल्म हेरेको सम्झिँदै उनले भविष्यमा राष्ट्रलाई एकताबद्ध गराउने फिल्म बनाउन पनि उनीहरुलाई आग्रह गरे ।

