म्यूजिक भिडियो हुँदै फिल्म दुनियाँमा प्रवेश गरेका अभिनेता पल शाह फिल्म 'शत्रु गते' रिलिजको एक वर्षपछि पर्दामा फर्किँदैछन् । उनी अभिनीत नयाँ फिल्म ‘वीरविक्रम २’ आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउँदैछ । यसका निर्देशक मिलन चाम्स हुन् । यो फिल्म रिलिजभन्दा अगाडि उनी ‘वितेका पल’ फेम निर्देशक सुरज सुब्बा नाल्बोको फिल्म ‘हृदय भरी’ गर्दैछन् ।
.jpg)
शहरिया युवापुस्तामा लोभलाग्दो क्रेज भएका उनले सामाजिक सञ्जालमा बेला बखतमा मनको 'भडास' पोख्ने गरेका छन् । केही हप्ता अगाडि फिल्म 'दाल भात तरकारी' को पहिलो गीत 'भिजिट भिषा' सार्वजनिक कार्यक्रममा अभिनेत्री आँचल शर्माले पत्रकारसँग माफी मागेपछि उनको समर्थनमा फेसबुकमा स्टाटस लेख्दै पल पत्रकारविरुद्ध खनिएका थिए ।
तर, आँचललाई समर्थन गरेर पलले पत्रकारमाथि भएभरको रिस खन्याउनुलाई कसैले आश्चर्यजनक रुपमा लिएनन् । किनभने, केही वर्षयता उनीहरु प्रेममा रहेको चर्चा छ । उनको फेसबुक स्टाटसले पत्रकारविरुद्ध खनिएर आँचलप्रति प्रेम दर्शाएको कतिपयको विश्लेषण थियो । आँचलले आफूलाई समर्थन गरेको भन्दै पललाई धन्यवाद पनि दिएकी थिइन् ।
यसबीच, पलले फेरि फेसबुक स्टोरीमार्फत् कसैप्रति घुमाउरो भाषामा चोटिलो प्रहार गरेका छन् । उनले शनिबार दिउँसो फेसबुक स्टोरीमा लेखेका छन्, 'तरण आदर्श नभएको देश नेपाल । नेपाली फिल्म इन्डस्ट्रीको प्रगति हुँँदैछ । जय नेपाल ।' उनको यो प्रहार कोप्रति लक्षित थियो ? अनुमान लगाउन घोत्लिनै पर्छ । बताइदिउँ कि, तरण भारतका नामी फिल्म समीक्षक र ट्रेड एनालिस्ट हुन् ।

उनले बलिउडका सम्पूर्ण फिल्मको कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने गर्दछ । के त्यसो भए पलले कुनै नेपाली फिल्मको बक्सअफिस रिपोर्ट जान्न चाहेका हुन् ? अहिले हलमा उनका प्रतिस्पर्धी अभिनेता मानिने अनमोल केसी अभिनीत फिल्म 'क्याप्टेन' प्रदर्शनरत छ । यो फिल्मको तीन दिने कलेक्सन रिपोर्ट सार्वजनिक भए पनि त्यसपछि निर्माण टिमले लुकाउँदै आएको छ ।
अपेक्षाकृत व्यापार गर्न नसक्नु र समीक्षकको नजरमा पनि खरो उत्रन नसकेपछि अहिले केही फिल्मकर्मीहरुले घुमाउरो शैलीमा सामाजिक सञ्जालमार्फत् यो फिल्मप्रति व्यंग्य गरिरहेका छन् । पलले पनि अनमोललाई नै निशाना बनाएका त होइनन् ? अनुमान काट्न सकिन्छ । तर, पलजी, ‘वीरविक्रम २’ रिलिजको बेला अरुले तरण आदर्श खोजे भने चाहिँ के हुन्छ नी ?

