अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ अहिले दोस्रो सातामा प्रदर्शन भइरहेको छ । भने, आउँदो चैत २९ मा नयाँ फिल्म ‘ए मेरो हजुर ३’ प्रदर्शनमा आउँदैछ । यसपछि उनको पाइपलाइनमा कुनै फिल्म छैनन् । ४५ लाख पारिश्रमिकमा साइन गरेको फिल्म ‘ब्याचलर बन्टी’ रोल चित्त नबुझेको भन्दै छाडेपछि अब उनी केही महिना ग्याप लिने सोचमा छन् ।
‘ए मेरो हजुर ३’ रिलिज अगाडिसम्म उनी कुनै फिल्म साइन गर्ने मुडमा छैनन् । तर, उनलाई लिन फिल्मकर्मीहरु तानातान गरिरहेका छन् । दैनिक २ भन्दा बढी फिल्मबाट अफर टुटेको छैन । उनलाई लिएपछि फिल्म सफल हुने मान्यता निर्माता-निर्देशकमा छ । यसैले त ५० लाखसम्म पारिश्रमिक तिरेर उनलाई फिल्म गराउन निर्माताहरु तयार छन् ।
 (2)(2).jpg)
यसबीच, चैत ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'कागजपत्र' का निर्देशक अपिल विष्टले आफ्नो एक नयाँ प्रोजेक्ट अनमोललाई अफर गरेका छन् । ‘प्रताप’ नाम जुराइएको फिल्मको 'वानलाइन स्टोरी' अनमोलले सुनिसकेका छन् र उनलाई चित्त पनि बुझेको छ । 'वानलाइन स्टोरी' मनपरेपछि उनले निर्देशक विष्टसँग फिल्मको फाइनल स्क्रिप्ट मागेका छन् ।
अनमोल अहिले फिल्म ‘ए मेरो हजुर ३’ को एक गीतका लागि सोलुखुम्बु गोकियोमा छन् । उनी मंगलवार राजधानी फिर्दैछन् । उनी काठमाडौं आएलगत्तै निर्देशक विष्टसहितको टिमले फाइनल स्क्रिप्ट बुझाउँदैछ । गोप्य स्रोतले दिएको जानकारी अनुसार, ‘प्रताप’ को स्क्रिप्टसँगै निर्देशक विष्टको टिमले अन्य दुई लभस्टोरी फिल्मको स्क्रिप्ट पनि दिने तयारीमा छ ।
अनमोल काम गर्न राजी भएको खण्डमा अर्को वर्षको बैशाख वा जेठबाट निर्देशक विष्टले ‘प्रताप’ को छायांकन सुरु गर्ने स्रोत बताउँछ । तर, अनमोलले 'वानलाइन स्टोरी' परेता पनि फाइनल स्क्रिप्ट नपढि निर्णय नदिने बताएका छन् । किनकि, फाइनल स्क्रिप्ट नपढि 'ब्याचल बन्टी' साइन गर्दा उनले अन्तिममा रोल चित्त नबुझेर हात झिक्नु परेको थियो ।

