Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(8 votes, avg 4.38/5.00)
Text size:-
+
-

मजाक गर्ने प्रदीपको नराम्रो बानी !

फिल्मीखबर, काठमाण्डौ, 2019/03/11
चकलेटी ब्वाई प्रदीप खड्का आइतबारबाट २८ औं वर्षमा प्रवेश गरेका छन् । सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' बाट हाइपमा आएका उनले आफ्नो जन्मदिन फ्यान र पत्रकारसँग सेलिब्रेट गरे । दिउँसो ५ बजे विभिन्न शहरबाट आएका आफ्ना 'डाइहार्ट फ्यान' र साँझ ७ बजे पत्रकारसँग उनले केक काट्दै जन्मदिन मनाए । उनले जन्मदिनमा आफ्नो नराम्रो बानी सुधार गर्ने बाचा पनि गरेका छन् । उनको नराम्रो बानी चाहिँ के रहेछ त ?
 
चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म 'लभ स्टेशन' टिमले आयोजना गरेको बर्थडे सलिब्रेसन कार्यक्रममा उनलाई पत्रकारले सोधे- 'तपाईंको नराम्रो बानी के हो ?' उनले जवाफ दिन समय लगाएनन् । उनले आफ्नो मजाक गर्ने बानी रहेको स्वीकारे । उनले भने- 'कुनै पनि कुरा मजाक गर्ने बानी आजकाल नराम्रो साबित भइरहेको छ । सायद यही नै होला मेरो नराम्रो बानी । किनकि, म स्टेट फर्वाड छु ।'
 
 
हालै फिल्म 'लभ स्टेशन' को ट्रेलर रिलिज कार्यक्रममा अघिल्ला फिल्मबाट निर्देशक चाहिँ राम्रो चाहिने रहेछ भन्ने महशुस भएको बताएपछि उनको जमेरै आलोचना भएको थियो । यसअघि काम गरेका निर्देशकहरु नराम्रो रहेको आशयले मजाक उडाएको भन्दै प्रदीपमा स्टारडमको घमण्ड चढ्न थालेको टिकाटिप्पणी भएको थियो । उनले 'लिलिबिली' रिलिजताका अभिनेत्री द्वय पूजा शर्मा र अश्लेषा ठकुरीप्रति पनि व्यंग्य गरेका थिए । 
 
प्रदीपले आफूलाई कुनै बानी सुधार गर्नुपर्ने लागेको खण्डमा त्यसलाई त्याग्न तयार रहेको पनि बोले । उनको बर्थडे सेलिब्रेसनमा 'लभ स्टेशन' की अभिनेत्री जसिता उपस्थित थिइनन् । आखिर किन उनी अनुपस्थित ? प्रदीपले शनिबार साँझ नै जसितासहित फिल्मको टिमसँग बर्थडे सेलिब्रेसन गरेको खुलाए । केही समययता उनीहरु प्रेममा रहेको खबर छ । प्रदीपले दर्शकलाई आफ्नो नयाँ फिल्म 'लभ स्टेशन' हेर्न आग्रह पनि गरे । 
 
के हो चोरीको आरोप ? 
 
'लभ स्टेशन' को ट्रेलरमा समावेश केही सिन टर्कीमा निर्माण भएको फिल्म ‘हर से असक्तन’ सँग डिट्टो मिलेपछि अहिले फिल्ममाथि चोरीको आरोप लागेको छ । यसबारे पनि प्रदीप र फिल्मका निर्माता गोविन्द शाहीले संयूक्त रुपमा जवाफ दिए । प्रदीपले केही सिन उस्तै लागे पनि कुनै फिल्मबाट कथा तानेर 'लभ स्टेशन' नबनेको स्पष्ट पारे । फिल्म राम्रो बनाउनका लागि कुनै फिल्मबाट प्रभावित हुनु नराम्रो नभएको पनि उनको जिकिर छ । 
 
 
'फिल्म कहीँ-कतैबाट पनि कपी होइन । कहीँ-कतै मिल्न गएमा संयोग मात्र हुनेछ', उनले अगाडि भने- 'लभ स्टेशन' मा नयाँपन छ र कुनै शंका नगर्न पनि म आग्रह गर्छु ।' उनले फेरि थपे- 'फिल्म राम्रो बनाउनका लागि कुनै फिल्मबाट प्रभावित हुनु नराम्रो हो भन्ने मलाई लाग्दैन ।' उनले 'लभ स्टेशन' कुनै फिल्मबाट कपी गरेर नबनेको पटक-पटक दाबी गरिरहे । 
 
निर्माता गोविन्द शाही भने यस विषयमा बोल्न चाहिरहेका थिएनन् । उनी भन्दै थिए, 'यो विषयमा पछि कुरा गरौंला ।' तर, टर्कीको फिल्मबाट केही सिन कपी गर्नुको दोषी को ? भन्ने पत्रकारको प्रश्न नरोकिएपछि उनलाई जवाफ दिन करै लाग्यो । 'दोष कसैको पनि छैन । हामीले विशुद्ध नेपाली फिल्म बनाउने प्रयास गरेका छौं । काम गर्दै जाँदा केही सिनहरु संयोगले मिल्छ, त्यसको दोषी कोही होइन', उनले भने ।
 
तश्बिर : नवराज भण्डारी
Most Visited News (monthly)