चैत ८ गतेबाट प्रदर्शनका लागि तयारी अवस्थामा रहेको फिल्म ‘कागजपत्र’ ले अहिले आफ्नो प्रचारलाई चुस्त बनाउन कुनै कसर बाँकी राखेको छैन । फिल्मको पहिलो चरणमा काठमाडौ, ललितपुर, भक्तपुरमा सञ्चालनमा रहेका ठुला सपिङ मलमा प्रचार गरिने निर्देशक अपिल बिष्टले बताए । दर्शकलाई हलसम्म डोर्याउन प्रभावकारी फण्डा गर्ने सोच पनि निर्माण टिमको छ ।
महाशिवरात्रीको दिन काठमाडौंको सिटी सेन्टरबाट सुरु गरेको प्रचार प्रसार कार्यक्रमको निरन्तरता रुवरुप शनिबार काठमाडौंको चुच्चेपाटी स्थित क.एल. टावरमा पनि गरिएको छ । अब हरेक शनिबार बिदाको दिन राजधानीमा सञ्चालित विभिन्न सपिङ मलमा फिल्मको प्रचार गरिने र अन्य थुप्रै कार्यक्रमहरु पनि सार्वजनिक गरिने निर्देशक विष्टले बताए ।
यो फिल्मले नक्कली बिहे गरेर अष्ट्रेलिया जान चाहनेहरुको कथा भन्छ । फिल्ममा नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक, लक्ष्मी वर्देवा, जीवन भट्टराई, आरजेस रेग्मीलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । फिल्मको यसअघि सार्वजनिक गीत 'मायाको संसार' र कमेडी ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाएको छ ।
इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । खिलेन्द्र तिम्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटीको लगानी रहेको यसमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् । फिल्मलाई क्यासमिर डिक्शनले खिचेका हुन् भने निमेष श्रेष्ठको काँधमा सम्पादनको जिम्मेवारी छ ।

