Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

बैशाख २७ मा विपिन र दयाहाङको ‘जात्रै जात्रा’ ?

फिल्मीखबर, काठमाण्डौ, 2019/03/10
अभिनेता विपिन कार्कीको मोटरसाइकल दुर्घटनाको क्रममा दायाँ खुट्टा फ्याक्चर भएपछि हिट फिल्म ‘जात्रा’ को सिक्वेल ‘जात्रै जात्रा’ घोषित मिति फागुन १७ मा प्रदर्शनमा आउन सकेन । केही हप्ता अगाडि मात्रै विपिन ‘बेड रेस्ट’ बाट उठेपछि फिल्मको बाँकी छायांकन सुरु भएको छ । हालै फिल्मको एक गीत खिचिएको थियो, जसमा निश्चल बस्नेत, करिश्मा मानन्धर, सारा सिरपालीसहित फिल्मका कलाकारले ठुम्का लगाएका छन् । 
 
 
फिल्मको अहिले अन्तिम चरणको छायांकन चलिरहेको छ । केही दिनमा हालै खिचिएको गीत सार्वजनिक गरेर फिल्मको नयाँ प्रदर्शन मिति घोषणा गर्ने सोचमा निर्माण टिम छ । फिल्मीखबरलाई गोप्य स्रोतले दिएको जानकारी अनुसार, फिल्म ‘जात्रै जात्रा’ अर्को वर्षको बैशाख अन्तिम साता प्रदर्शनमा आउने तय भएको छ । अर्थात् २०७६ सालको बैशाख २७ गते फिल्म आउन लागेको हो । यद्यपि, यसको जानकारी निर्माण टिमले दिएको छैन । 
 
२ वर्ष अगाडि प्रदर्शनमा आएको ‘जात्रा’ को सिक्वेल भएका कारण यो फिल्मप्रति दर्शकको अपेक्षा धेरै छ । फिल्मको पहिलो भागमा विपिन कार्की, रबिन्द्र झा, रबिन्द्र सिंह बाँनिया, वर्षा राउत प्रमुख भूमिकामा थिए । दोस्रो भागमा पनि उनीहरु नै दोहोरिएका छन् । थपिएका कलाकारमा अभिनेता दयाहाङ राई छन् । फिल्ममा उनी भिलेनको भूमिकामा रहेको बताइएको छ । सार्वजनिक टिजरले पनि धेरथोर अनुमान गर्न सकिन्छ । 
 
फिल्मका निर्देशक प्रदीप भट्टराई हुन् । सर्लाही रैथाने उनले फिल्म ‘जात्रा’ बाटै निर्देशनमा डेब्यू गरेका थिए । उनको दोस्रो फिल्म ‘शत्रु गते’ हो । लामो समय उनले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको संयूक्त ब्यानर ‘महसञ्चार’ ले निर्माण गर्ने हास्यटेलिसिरियलमा सहायक निर्देशकको रुपमा काम गरेका थिए । अहिले उनको नाम सुपरहिट फिल्म दिने निर्देशकको सूचीमा अग्रणी स्थानमा आउँछ । 
 
कलाकार रविन्द्र सिंह कार्यकारी निर्माता रहेको ‘जात्रै जात्रा’ मा सिंगे लामा र यादव पौडेल निर्माताको रुपमा छन् । शिवराम श्रेष्ठ छायाँकार रहेको फिल्मलाई मित्र डि. गुरुङले सम्पादन गर्नेछन् । फिल्म षट्कोण पिक्चर्सको ब्यानरमा बनेको हो । ‘‘जात्रा’ जहाँ सकिएको थियो ‘जात्रै जात्रा’ त्यहीँबाट सुरु हुन्छ । तर, यसपटक फिल्मका पात्रहरु पैसाको पछाडि मात्र दौडिने छैनन्’’, निर्देशक भट्टराईले भनेका छन् । 
 
टिजर हेर्नुहोस् :-

Most Visited News (monthly)