Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(15 votes, avg 5.00/5.00)
Text size:-
+
-

२८ लागे ‘प्रेमगीत’ बाट चम्किएका प्रदीप

फिल्मीखबर, काठमाण्डौ, 2019/03/10
पछिल्ला छिमलका सर्वाधिक व्यस्त, महँगा र डिमाण्डेड अभिनेता प्रदीप खड्काले आइतबारबाट जीवनको २७ औं बसन्त पार गरेका छन् । ललितपुरको कुसुन्तीमा सन् १९९२ मार्च १० मा माता सारदा खड्का र पिता टेक बहादुर खड्काको कोखबाट जन्मिएका उनले सिक्किम मनिपाल युनिभर्सिटिबाट सम्बन्धन प्राप्त लर्ड बुद्ध फाउन्डेसनबाट एमबिए सकाएका छन् । उनले मार्केटिङमा मास्टर्स गरेका हुन् । 
 
आफ्नै लगानीमा फिल्म 'स्केप' बाट अभिनय यात्रा थालनी गरेका उनलाई सन् २०१६ मा प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित फिल्म 'प्रेमगीत' ले रातारात स्टार बनाएको थियो । नेपाली फिल्ममा भविष्य नदेखेर अष्ट्रेलिया उड्न लाग्दा उनलाई यो फिल्म हातमा परेको थियो । यो फिल्मपछि उनले आफ्नो करिअरलाई लिएर चिन्तित हुनु पर्ने अवस्था सृजना भएको छैन । उनलाई लिएपछि 'फिल्म हिट हुन्छ' भन्ने मान्यता अहिले फिल्ममेकर्समा छ । 
 
खासगरि युवापस्ताका ढुकढुकी प्रदीपले अहिले एक फिल्मबापत ४० लाखमाथि पारिश्रमिक बुझ्ने गरेका छन् । २ लाख पारिश्रमिक लिएर फिल्म 'प्रेमगीत' गरेका उनले यसैको दोस्रो पार्टमा ८ लाख पारिश्रमिक बुझे । यो फिल्मले मुनाफा कमाएको भन्दै निर्माता सन्तोष सेनले उनलाई ५० लाखको आसपास पर्ने क्रेटा गाडी गिफ्ट नै गरेका थिए । 'लिलिबिली' मा उनले २२ लाख बुझे भने 'रोज' मा २५ लाख हात पारे । 
 
चकलेटी ब्वाई प्रदीपले विभिन्न फिल्मबाट अवार्ड पनि उचालिसकेका छन् । ‘फान अवार्ड २०७३’ मा ‘स्टार अफ द ईयर’ घोषित भएका उनले ‘एलजी सिने सर्कल फिल्म अवार्ड २०७५’ मा पपुलर नायकको अवार्ड चुमेका थिए । यस्तै, पहिलो ‘एलजी फिल्म अवार्ड’ मा फिल्म ‘प्रेमगीत’ बाट उनले अभिनेत्री पूजा शर्मासँग उत्कृष्ट जोडीको अवार्ड उचालेका छन् । उनले अहिलेसम्म कुनै फिल्मबाट उत्कृष्ट अभिनेताको अवार्ड हात पार्न भने सकेका छैनन् । 
 
 
एकपछि अर्को फिल्मबाट सफलताको सिडी चढिरहेका प्रदीप फिल्म छनोटमा निकै चुजी मानिन्छन् । निर्माताहरु लाखौं तिरेर फिल्म गराउन अगाडि-पछाडि दौडिए पनि उनी स्क्रिप्ट र टिम मनपरे मात्र काम गर्न राजी हुन्छन् । वर्षमा दुई फिल्मभन्दा बढी फिल्म नगर्ने उनी पछिल्लो रिलिज फिल्म 'रोज' असफल भएपछि भने निर्देशक छनोटमा गम्भीर देखिन थालेका छन् । फिल्म राम्रो बन्न निर्देशक राम्रो हुनुपर्ने उनले महशुस गर्न थालेका छन् । 
 
अर्को महिना अर्थात् चैत २२ गते उनको नयाँ फिल्म 'लभ स्टेशन' प्रदर्शनमा आउँदैछ । यसलाई भेट्रान निर्देशक उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । यसपछि उनले हेमराज विसीको एक लभस्टोरी फिल्म गर्दैछन् । माटो सुहाउँदो फिल्म बनाउन सिपालु मानिने रामबाबु गुरुङको 'कबड्डी ३' पनि उनले साइन गरिसकेको खबर प्राप्त छ । उनले उनीसँग फिल्म 'बेला' पनि गर्दैछन् । अर्को वर्ष उनले 'प्रेमगीत ३' पनि गर्ने पक्का भइसकेको छ । 
 
'डिप्लोम्याटिक' जवाफ दिन खप्पिस प्रदीप प्रायः आफ्नो बोलिका कारण भने आलोचित बन्ने गरेका छन् । अभिनेतामा अहिलेका 'हटकेक' अनमोल केसीका प्रतिस्पर्धी मानिने उनको फिल्म निर्माण कम्पनी प्रदीप मिडिया प्रा. लि छ, जसबाट 'स्केप' र 'ठूलोमान्छे' नामक फिल्म निर्माण भइसकेका छन् । भने, प्रदर्शनको तरखरमा रहेको फिल्म 'लभ स्टेशन' मा पनि उनको ब्यानरले सहकार्य गरेको बताइएको छ । 
 
फिल्मका कारण मात्र होइन, केही समययता उनी 'लिलिबिली' अभिनेत्री जसिता गुरुङसँग अफेयरमा रहेको खबरका कारण पनि चर्चामा छन् । तर, यो कुरा दुबै नकार्छन् । दोस्रो पटक फिल्म 'लभ स्टेशन' मा सहकार्य हुनुले भने यो कुरालाई थप मसला मिलेको छ । दर्शकहरु पनि प्रदीप र जसितालाई 'रियल जोडी' बनेको हेर्न चाहन्छन् । 'प्रेमगीत' मा अभिनेत्री पूजा शर्मासँगको प्रदीपको पेयरिङलाई पनि निकै रुचाइएको थियो । 
 
विदेशी फिल्मका कारण स्वदेशी दर्शक नेपाली फिल्म भनेपछि नाक खुम्च्याउने गर्दछन् । नेपाली फिल्म हेर्न लायक हुँदैन भन्ने सोचाइ अझै युवापुस्तामा व्याप्त छ । यसलाई धेरै हदसम्म प्रदीपले गलत साबित गर्ने प्रयास गरेका छन् । नेपाली फिल्म भनेपछि दूरी बनाउने युथलाई उनले 'नेपाली फिल्म पनि स्तरिय बन्छन्' भन्ने उदारहण पेश गर्दै आएका छन् । यसकारण पनि उनीमाथि नेपाली फिल्म क्षेत्रको ठूलो आशा र भरोसा अडिएको छ । 
 
ओठमा कुटिल मुस्कान छर्न कहिल्यै नछाड्ने प्रदीपलाई फिल्मीखबर परिवारको तर्फबाट जन्मदिनको धेरै-धेरै शुभकामना । 
Most Visited News (monthly)